२० वर्षअघि विवाहको कानुनी उमेर नघटाउन बालअधिकारकर्मीको जोड

२० वर्षअघि विवाहको कानुनी उमेर नघटाउन बालअधिकारकर्मीको जोड
स्पर्श खबर जितपुर बारा जेठ १ गते: बालअधिकारकर्मीहरूले विवाहको विद्यमान न्यूनतम कानुनी उमेर २० वर्ष कायम राख्नुपर्नेमा जोड दिएका छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आयोजना गरेको ‘बिहेवारी २० वर्ष पारी अभियान’ अन्तर्गत सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा वक्ताहरूले विवाहको उमेर १८ वर्षमा झार्ने प्रस्ताव बालअधिकारविरुद्ध हुने बताएका हुन्।
कार्यक्रममा तारक धिताल ले विवाहको उमेर घटाउँदा बालबालिकाको शिक्षा, मानसिक स्वास्थ्य, आर्थिक अवस्था, सामाजिक विकास तथा प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्ने विभिन्न अध्ययनले देखाएको बताए। उनले चीन, दक्षिण कोरिया र भारत जस्ता देशहरूमा पनि २० वर्षपछि विवाहको कानुनी व्यवस्था रहेको उदाहरण प्रस्तुत गरे।
उनले नेपाल सरकारले ल्याएको बालविवाह अन्त्यसम्बन्धी रणनीति २०७२ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तहका सरकार, निजी क्षेत्र र सञ्चारकर्मीको सक्रिय भूमिका आवश्यक रहेको बताए। नेपालको संविधानको धारा ३९ तथा मुलुकी अपराध संहिता, २०७४ अनुसार २० वर्ष नपुगी गरिने विवाह दण्डनीय मानिन्छ।
सिजपका अध्यक्ष तिलोत्तम पौडेल ले कम उमेरमा विवाहलाई कानुनी मान्यता दिँदैमा बालविवाह न्यूनीकरण नहुने स्पष्ट पार्दै कम उमेरमै सन्तान जन्माउँदा जन्ममृत्युदर बढ्ने जोखिम रहेको बताए। उनले २० वर्ष मुनिको विवाहलाई सहमतिका आधारमा मान्यता दिनुपर्ने धारणा पनि गलत रहेको बताए।