तस्करी र लागूऔषधविरुद्ध कडा बन्न आइजीपी कार्कीको निर्देशन

तस्करी र लागूऔषधविरुद्ध कडा बन्न आइजीपी कार्कीको निर्देशन

मनाेज शाह जितपुर बारा बैशाख ३० गते:
दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन्। बुधबार इलाका प्रहरी कार्यालय सिम्रौनगढमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सानो परिमाणका घरायसी सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिएका हुन्।
कार्कीले “घरका लागि ल्याइने एक किलो काउली समात्ने तर ठूलो तस्करीमा संलग्नलाई छोड्ने प्रहरीमाथि कारवाही हुन्छ” भन्दै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए। उनले तस्करी नियन्त्रणमा प्रहरी मात्र नभई समुदायको पनि सक्रिय भूमिका आवश्यक रहेको बताए।
त्यसैगरी, लागूऔषध समाजको गम्भीर समस्या बनेको उल्लेख गर्दै कार्कीले ओसारपसार तथा बिक्रीमा संलग्नविरुद्ध निर्मम रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिए। युवाहरू लागूऔषधको कुलतमा फस्दै गएको भन्दै यसको नियन्त्रण अपरिहार्य रहेको उनले बताए।
महानिरीक्षक कार्कीले प्रहरी कार्यालयमा सेवा लिन आउने नागरिकलाई छिटोछरितो र सहज सेवा दिन, न्याय प्रक्रियामा बिचौलियाको हस्तक्षेप रोक्न तथा पीडितलाई न्याय दिलाउन प्रहरी कर्मचारी आफैं जिम्मेवार बन्नुपर्नेमा जोड दिए। नयाँ सेवा केन्द्र सञ्चालनपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले अझ सुरक्षित र प्रभावकारी सेवा पाउने विश्वास उनले व्यक्त गरे।