हेर्दाहेर्दै घिनलाग्दो बन्दै जितपुरको रातो पुल आर्यघाट, व्यवस्थापनको माग तीव्र
स्पर्श खबर जितपुर बारा बैशाख २८ गते:
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रातो पुल नजिकको आर्यघाट वर्षौंदेखि व्यवस्थापनविहीन अवस्थामा रहँदा स्थानीयवासीले तीव्र गुनासो गरेका छन्। जितपुर आसपासका क्षेत्रका हिन्दु समुदायले मृत्यु पश्चात अन्तिम संस्कारका लागि यही आर्यघाट प्रयोग गर्दै आए पनि अहिलेसम्म कुनै पनि जनप्रतिनिधि वा सरोकारवालाको ध्यान पुग्न नसकेको स्थानीयहरूको आरोप छ।
स्थानीय ओमप्रकाश यादवले दुःख व्यक्त गर्दै भने, “घाम होस् वा पानी, मान्छे मरेपछि यहीँ आउनुपर्छ, तर यहाँका नेताहरूको नजर कहिल्यै पर्दैन।”
समाजसेवी हरिचन्द्र परिषवानले पनि आर्यघाटको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने, “मान्छेले जीवनभर जति धन कमाए पनि अन्तिम गन्तव्य समसानघाट नै हो। कम्तीमा हिन्दु समाज र जनप्रतिनिधिहरूले यो आर्यघाटलाई व्यवस्थित बनाउन पहल गर्नुपर्छ।”
स्थानीय कानेश्वर यादवका अनुसार रातो पुलको आर्यघाटको अवस्था हेर्दा नै घिन लाग्ने अवस्था रहेको छ। उनले भने, “यहाँका समाज र जनप्रतिनिधिहरूको कम्तीमा नजर त आर्यघाटमा पर्नुपर्ने हो, तर त्यस्तो देखिँदैन। सबैसँग आग्रह छ—आर्यघाट व्यवस्थापन गरिदिनुस्, अन्ततः यहीँ सबैको अन्तिम यात्रा हुने हो।”
स्थानीयवासीहरूले आर्यघाटमा छानो, खानेपानी, बस्ने स्थान, सरसफाइ तथा दाहसंस्कारका आधारभूत संरचना निर्माण गर्न तत्काल पहल गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।