गौतम बुद्ध विद्यालय ‘गायब’ प्रकरण: कसले तोड्यो, किन मौन जनप्रतिनिधि?

गौतम बुद्ध विद्यालय ‘गायब’ प्रकरण: कसले तोड्यो, किन मौन जनप्रतिनिधि?
स्पर्श खबर जितपुर बारा बैशाख १३ गते:

जितपुर सिम्रा उपमहानगरपालिका वडा नं. ५ स्थित गौतम बुद्ध आधारभूत विद्यालय दिनदहाडै हटाइएको घटनाले स्थानीय स्तरमा गम्भीर प्रश्न उठाएको छ। केही दिनअघि विभिन्न मिडियामा समाचार सार्वजनिक भए पनि अहिलेसम्म यसको वास्तविकता उजागर हुन सकेको छैन।
स्थानीय समिम मियाका अनुसार, “हाम्रा बालबच्चा यही विद्यालयमा पढ्थे, सरकारको लगानीमा बनेको भवन अहिले तोडेर खुला चौर बनाइएको छ।” वर्षौंदेखि सञ्चालनमा रहेको विद्यालय अचानक हटाइँदा अभिभावक र विद्यार्थी अन्योलमा परेका छन्।
यस विषयमा वडाध्यक्ष दिपेन्द्र चौधरीले भने विद्यालय व्यक्तिको जग्गामा रहेकोले हटाइएको दाबी गरेका छन्। तर स्थानीय जफुर मियाले उक्त दाबीप्रति प्रश्न उठाउँदै भने, “१०–१५ वर्षदेखि विद्यालय यहीँ थियो, कहिल्यै कसैले आफ्नो जग्गा भन्दै दाबी गरेन। अहिले अचानक सूचना नै नदिई विद्यालय तोडियो।”
स्थानीयवासीहरू भन्छन्—एउटा भवन बनाउन वर्षौं लाग्छ, तर सरकारी बजेटबाट बनेको विद्यालय कसरी एकैछिनमा भत्काइयो? किन कसैले रोक्न सकेन? कानुनी प्रक्रिया किन अपनाइएन?
सबैभन्दा ठूलो प्रश्न भनेको—विद्यालय कसले र किन तोड्यो? अनि यसमा जिम्मेवार निकाय किन मौन छन्? वडाध्यक्ष दिपेन्द्र चौधरी र मेयर राजन पौडेलले अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक नगर्नुले शंका झन् बढाएको छ।
स्थानीयले तत्काल छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन्। अन्यथा, यो घटना जनप्रतिनिधिको जवाफदेहिता माथि गम्भीर प्रश्न बनेर रहने देखिन्छ।