उपमहानगरभरि निजी विद्यालयमै किताब बिक्री: अनुगमन निकाय किन मौन?

उपमहानगरभरि निजी विद्यालयमै किताब बिक्री: अनुगमन निकाय किन मौन

मनोज शाह जितपुर बारा बैशाख ५ गते
बारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका अधिकांश निजी विद्यालयहरूले विद्यालय परिसरभित्रै पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको पाइएको छ। शिक्षा सम्बन्धी नियमावलीले विद्यालयले प्रत्यक्ष रूपमा किताब बिक्री गर्न नपाउने स्पष्ट व्यवस्था गरेको भए पनि स्थानीय स्तरमा यसको खुलेआम उल्लंघन भइरहेको छ।
अभिभावकहरूका अनुसार विद्यालयले आफूखुसी प्रकाशनका किताब अनिवार्य गराउँदै विद्यालयकै भित्र काउन्टर राखेर बिक्री गरिरहेका छन्। बजारमा सहज रूपमा पाइने सस्ता विकल्प हुँदाहुँदै पनि विद्यालयले तोकेकै किताब किन्न बाध्य बनाइँदा आर्थिक भार बढेको गुनासो अभिभावकहरूको छ।
“हामीलाई बाहिरबाट किताब किन्ने विकल्प नै दिइँदैन, विद्यालयमै महँगो मूल्यमा किन्नुपर्छ,” एक अभिभावकले नाम नखुलाउने सर्तमा बताए। उनका अनुसार एउटै कक्षाको किताबमा हजारौँ रुपैयाँ अतिरिक्त खर्च गर्नुपरेको छ।
स्थानीय पुस्तक पसल व्यवसायीहरू समेत यसप्रति आक्रोशित छन्। विद्यालयभित्रै किताब बिक्री हुँदा आफ्नो व्यवसाय प्रभावित भएको उनीहरूको भनाइ छ। “विद्यालयले नै पसल जस्तो गरेर किताब बेच्न थालेपछि हामी कसरी टिक्ने?” एक व्यवसायीले प्रश्न गरे।
यस विषयमा उपमहानगरपालिकाको शिक्षा शाखा तथा सम्बन्धित अनुगमन निकाय भने मौन देखिएका छन्। नियम उल्लंघन भइरहेको विषयमा जानकारी हुँदाहुँदै पनि प्रभावकारी अनुगमन र कारबाही नहुँदा समस्या झन् मौलाउँदै गएको छ।
शिक्षा क्षेत्रमा पारदर्शिता र प्रतिस्पर्धा कायम गर्न यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको सरोकारवालाहरूको माग छ। अभिभावकहरू भने सम्बन्धित निकायले तुरुन्त छानबिन गरी दोषी विद्यालयमाथि कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्।