बाराकाे नापी कार्यालयमा ‘घुसकाण्ड’को विस्फोट दलित महिलाको आँसु ६,५०० असुली तर काम शून्य

बाराकाे नापी कार्यालयमा ‘घुसकाण्ड’को विस्फोट दलित महिलाको आँसु ६,५०० असुली तर काम शून्य
मनोज साह जितपुर बारा चैत २१ गते


जितपुरसिमरा उपमहानगरपालिका वडा ३ स्थित बजानी नापी कार्यालयमा सेवाग्रहीसँग घुस असुलिएको गम्भीर आरोप सार्वजनिक भएको छ। दलित समुदायका महिलाहरूले काम गरिदिने बहानामा रकम लिइएको तर काम नभएको भन्दै खुलेआम विरोध जनाएका छन्।
स्थानीय पवनया देवी पासवानका अनुसार उनीहरूबाट सुरुमा ४,००० रुपैयाँ माग गरिएको थियो। हामी कमाएर खाने मान्छे हौँ, रसिदको पैसा दिन्छौँ भनेका थियौँ, तर पनि दबाब दिएर ऋण काढेर ६,५०० रुपैयाँसम्म दियौँ उनले रुँदै भनिन्। पैसा बुझाएपछि पनि काम नभएपछि उनीहरू रकम फिर्ता माग्न नापी कार्यालय पुगेका थिए।


महिलाहरूले कार्यालयका सहयोगी बिद्रोह यादवलाई रकम दिएको दाबी गरेका छन्। तर, पैसा फिर्ता माग्दा उनले “हाकिमसँग कुरा गर्नुस्” भन्दै पन्छिन खोजेको आरोप छ। पत्रकार पुगेको देखेपछि उनी कार्यालयभित्र भागे ।
कार्यालय प्रमुख राधे श्याम साहसँग बुझ्दा उनले “मलाई यसबारे केही थाहा छैन भन्ने प्रतिक्रिया दिएका छन्। तर, उनकै अगाडि महिलाहरूले रोइरहेको अवस्थामा नै रकम लिएको आरोप दोहोर्‍याएका थिए।


जयमाला देवी पासवानले भनिन्, “हामी सँगै गएर पैसा दिएका हौँ, मैले पनि २,००० दिएको छु।
त्यस्तै ललितादेवी पासवानले पनि सामूहिक रूपमा रकम बुझाएको दाबी गरिन्।
यो घटनाले नापी कार्यालयभित्रै मिलेमतोमा घुस असुली भइरहेको आशंका थप गहिरो बनाएको छ। अझ गम्भीर कुरा, कार्यालय प्रमुख राधेश्याम शाह यसअघि पनि ५,००० रुपैयाँ घुस प्रकरणमा मुछिएका व्यक्ति भएको खुलासा भएको छ। अख्तियारमा मुद्दा जितेर उन्मुक्ति पाएपछि कार्यालयको प्रमुख बन्नु थप विवादको विषय बनेको छ।


सेवाग्रहीले न्यायको माग गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। अहिले यो प्रकरणले जितपुरसिमरा क्षेत्रको सरकारी कार्यालयभित्रको भ्रष्टाचारको जालो फेरि उजागर गरेको छ।