ओली पक्राउपछि एमालेको कडा चेतावनी: देशभर आन्दोलन घोषणा, सरकारमाथि प्रतिशोधको आरोप
स्पर्श खबर जितपुर बारा चैत १४ गते
नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठकमार्फत पार्टीले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको हो।
पार्टी सचिव महेश बस्नेतले बिहान ८:३० बजे बस्नेगरी बैठक बोलाइएको जानकारी दिँदै आन्दोलनका कार्यक्रम छिट्टै सार्वजनिक गरिने बताएका छन्। उनले नेपालमा राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्वपूर्ण सूचक रहेको उल्लेख गर्दै पछिल्ला घटनाक्रमले उक्त मान्यता कमजोर बनाएको टिप्पणी गरे।
बस्नेतले बालेन शाह नेतृत्वको सरकारमाथि कडा प्रहार गर्दै अनुभवहीन र विवादित पात्रलाई गृहमन्त्री बनाइएको आरोप लगाए। विशेषगरी गृहमन्त्री सुदन गुरुङ जस्ता व्यक्तिले जस्ता व्यक्तिलाई जिम्मेवारी दिइनु र त्यसपछि भएका पक्राउ घटनाले देशलाई द्वन्द्वतर्फ धकेल्ने खतरा बढाएको उनको भनाइ छ।
त्यसैगरी, पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखक को गिरफ्तारीप्रति आक्रोश व्यक्त गर्दै उनले यसलाई “राजनीतिक प्रतिशोध र पूर्वाग्रहको स्पष्ट संकेत” बताएका छन्। सामाजिक सञ्जालमार्फत बस्नेतले यस्तो कदमले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने चेतावनी दिएका छन्।
उनले सरकार र सुरक्षा निकायप्रति प्रश्न उठाउँदै भने, “सरकारी सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने अवस्था हुँदा पनि लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरूलाई पक्राउ गर्न हजारौँ प्रहरी परिचालन हुनु अत्यन्तै दुःखद र शंकास्पद छ।”
एमालेले अब देशभर चरणबद्ध आन्दोलन गर्दै सरकारमाथि दबाब बढाउने रणनीति अघि सारेको छ। पछिल्ला घटनाक्रमले नेपाली राजनीति थप तनावपूर्ण बन्ने संकेत देखिएको छ भने देशको लोकतान्त्रिक भविष्यप्रति चिन्ता बढ्दै गएको छ।