मनोज साह जितपुर बारा फागुन १० गते:
घरदैलोमा न्यून जनसहभागिता : जसपा नेपाल पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादव कमजोर देखिएको आरोप
बारा जिल्ला क्षेत्र नम्बर ३ का जसपा नेपाल पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादवको घरदैलो कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको भन्दै स्थानीय स्तरबाट आलोचना सुरु भएको छ। घरदैलो अभियानमा जनताको उपस्थिति न्यून देखिएको भन्दै कार्यक्रम कमजोर देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
कलैयाका स्थानीय सुरेश यादवका अनुसार घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिन नसकेको बताए। “घरदैलोमा जनता कम देखिए, जसले गर्दा कार्यक्रममै उत्साह अभाव जस्तो देखियो,” उनले प्रतिक्रिया दिए।
अर्का प्रत्यक्षदर्शी रामनरेश शाहले पनि कार्यक्रम अपेक्षा अनुसार सञ्चालन हुन नसकेको टिप्पणी गरे। उनका अनुसार सामान्यतया चुनावी घरदैलोमा देखिने चहलपहल र जनसक्रियता यसपटक खासै देखिएको थिएन।
स्थानीयहरूले उम्मेदवार यादव घरदैलोका क्रममा पनि धेरैजसो समय फोनमै व्यस्त देखिएको आरोप लगाएका छन्। यसै कारण जनतासँग प्रत्यक्ष संवाद कम भएको र मतदाताहरूले अपेक्षा गरे जस्तो अपनत्व महसुस गर्न नसकेको गुनासो गरिएको छ।
जनताको काममा सक्रिय रूपमा समय दिनुपर्ने अपेक्षा रहेको उल्लेख गर्दै केही स्थानीयले उम्मेदवार जनतामाझ अझ बढी उपस्थित हुनुपर्ने धारणा व्यक्त गरेका छन्। न्यून जनसहभागिताले चुनावी माहोलमा उम्मेदवारको अभियान कमजोर देखिएको स्थानीयहरूको भनाइ छ।