जितपुरसिमरा उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत
स्पर्श खबर जितपुर बारा माघ ७ गते:
जितपुर सिम्रा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सहसचिव हिरालाल चौधरी आउनुभएको छ। आज बुधबारदेखि उहाँले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्नुभएको हो।
कार्यभार ग्रहण गर्दै सहसचिव चौधरीले स्थानीय सरकारलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उपमहानगरपालिकाको प्रशासनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउँदै विकास निर्माणका कामलाई तीव्रता दिने उहाँको प्राथमिकता रहने बताइएको छ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत चौधरीको आगमनसँगै जितपुर सिम्रा उपमहानगरपालिकामा सेवा प्रवाह र विकासका कार्यहरू थप सुदृढ हुने अपेक्षा गरिएको छ। यस अवसरमा जितपुर सिम्रा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले कपी–कलम प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई स्वागत गर्नुभएको थियो।


