महागढीमाइमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा एसईई अभिमुखीकरण तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न
स्पर्श खबर जितपुर बारा पुष २५ गते

महागढीमाइ नगरपालिका–स्थित श्री महेन्द्र गढीमाइ प्राविधिक नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीको आयोजनामा “S.E.E Awareness and Educational & Semi Personality Development Program–2082” भव्य रूपमा सम्पन्न भएको छ।
बाराको चर्चित गैरसरकारी संस्था हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा आयोजित उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्री राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा महागढीमाइ नगरपालिकाका शिक्षा प्रमुख श्री रामबिश्वास चौरसिया उपस्थित रहनुभएको थियो।
कार्यक्रममा नगरपालिकाभित्रका सबै वडाध्यक्षहरू, विशेष अतिथिका रूपमा सबै माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू, सञ्चारकर्मीहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रशिक्षण सत्रमा मोटिभेशनल स्पीकरहरू प्रदीप कुमार साह र सगर कुमार कुशवाहले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रमको समग्र प्रबन्धन तथा निर्देशन पुनम यादवले गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषण संस्थाकी सदस्य श्री कुमकुम गुप्ताले गर्नुभएको थियो।
मोटिभेशनल वक्ता प्रदीप कुमार साहले एसईई परीक्षा पूर्वको तयारीका विषयमा विद्यार्थीहरूलाई विशेष प्रशिक्षण दिनुभयो। उहाँले समय व्यवस्थापन, अध्ययन सामग्रीको प्राथमिकता निर्धारण, विगतका प्रश्नपत्र अभ्यास, आत्मविश्वास अभिवृद्धि तथा मानसिक तनाव व्यवस्थापनका उपायहरूबारे विस्तृत रूपमा मार्गदर्शन गर्नुभयो। साथै, कठिन विषयमा विशेष ध्यान दिँदै योजनाबद्ध र नियमित अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो।
प्रदीप साहले व्यक्तित्व विकासका विविध पक्ष—आत्मविश्वास, सकारात्मक सोच, लक्ष्य निर्धारण र अनुशासन—बारे पनि प्रशिक्षण प्रदान गर्दै विद्यार्थीहरूलाई भविष्यप्रति आशावादी र जिम्मेवार बन्न प्रेरित गर्नुभयो।
कार्यक्रमले एसईई परीक्षाको तयारीमा विद्यार्थीहरूलाई सकारात्मक दृष्टिकोण र योजनाबद्ध अभ्यासमा ठूलो सहयोग पुगेको सहभागी विद्यार्थी तथा अभिभावकहरूको भनाइ रहेको थियो।


