दलित समुदायका युवा रुपेश कुमार रामको लोकसेवामा उल्लेखनीय सफलता, चार लिखित परीक्षा पास गर्दै बने प्रेरणाको स्रोत


दलित समुदायका युवा रुपेश कुमार रामको लोकसेवामा उल्लेखनीय सफलता, चार लिखित परीक्षा पास गर्दै बने प्रेरणाको स्रोत
मनोज शाह जितपुर बारा पुष २५ गते
कलैया उपमहानगरपालिका–१६ निवासी दलित समुदायका युवा रुपेश कुमार रामले लोकसेवा आयोगका विभिन्न परीक्षामार्फत उल्लेखनीय सफलता हासिल गर्दै आफूलाई सक्षम र प्रतिस्पर्धी प्रमाणित गरेका छन्। करिब १५–१६ महिनाको अवधिमा चार पटक लिखित परीक्षा उत्तीर्ण गर्दै उनले निरन्तरता, धैर्य र मेहनतको उदाहरण प्रस्तुत गरेका हुन्।
राम कोशी प्रदेश लोकसेवा आयोगबाट पाँचौँ तहमा १ नम्बर सिफारिस भई हाल उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशमा कार्यरत छन्। यससँगै उनले गण्डकी प्रदेश लोकसेवा आयोगको चौथो तहको परीक्षा आ.व. २०८०/८१ मा पहिलो प्रयासमै लिखित उत्तीर्ण गरी वैकल्पिक सूचीमा नाम निकालेका थिए। त्यसको अर्को वर्ष मनाङ जिल्लाको नासो गाउँपालिकामा स्थायी नियुक्ति पाउँदै उनले आफ्नो सफलता यात्रालाई थप मजबुत बनाएका छन्।
यसअघि संघीय चौथो तहको लिखित परीक्षा समेत उत्तीर्ण गरिसकेका रामको हाल अन्तर्वार्ता मात्र बाँकी रहेको छ। छोटो समयमै विभिन्न तह र प्रदेशका परीक्षामा सफलता हासिल गर्नु उनको तयारी, अनुशासन र आत्मविश्वासको प्रमाण मानिएको छ।
आफ्नो अनुभव साझा गर्दै रुपेश कुमार राम भन्छन्, “परिश्रम, निरन्तर अभ्यास र धैर्य भएमा कुनै पनि सामाजिक पृष्ठभूमि भए पनि सफलता हासिल गर्न सकिन्छ। यस उपलब्धिले मलाई आगामी लक्ष्यतर्फ अझ मेहनत गर्न प्रेरित गरेको छ।”
रुपेश कुमार रामको यो सफलता दलित समुदायका विद्यार्थी तथा युवाहरूका लागि मात्र होइन, समग्र समाजका लागि पनि प्रेरणादायी उदाहरण बनेको छ। उनले देखाएको दृढता र संघर्षले लोकसेवा तयारीमा जुटिरहेका युवाहरूलाई सकारात्मक सन्देश दिएको छ।