बौधिमाई मन्दिर पछाडि आमको रुखमा बजरंगबलीको आकृति देखिएको दाबी, बिहानैदेखि श्रद्धालुको भिड

बौधिमाई मन्दिर पछाडि आमको रुखमा बजरंगबलीको आकृति देखिएको दाबी, बिहानैदेखि श्रद्धालुको भिड

मनोज शाह जितपुर बारा पुष २५ गते
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित बौधिमाई मन्दिरको पछाडि रहेको आमको रुखमा बजरंगबली (हनुमान) को तस्बिर देखिएको भन्दै स्थानीय क्षेत्रमा चर्चा फैलिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार यस्तो दृश्य यसअघि कतै नदेखिएको र बीरगञ्जबासीका लागि अचम्म तथा खुसीको विषय भएको बताएका छन्।
स्थानीय अनिता डंगोलले “यस्तो आकृति स्वाभाविक रूपमा उत्पादन हुँदैन, बीरगञ्जबासीका लागि यो खुसीको कुरा हो,” भन्दै आफ्नो धारणा व्यक्त गरिन्। त्यसैगरी, उक्त क्षेत्रका पुजारीले रुखमै बजरंगबली प्रकट भएको विश्वास व्यक्त गर्दै “बीरगञ्जबासीको रक्षा गर्न प्रत्यक्ष रूपमा आउनुभएको हो” भन्ने विश्वास व्यक्त गरेका छन्।
घटनाको चर्चा फैलिएसँगै बिहानैदेखि मन्दिर परिसर र वरपरका क्षेत्रमा श्रद्धालुहरूको भीड बढेको छ। आसपासका भेगका स्थानीयहरू पूजापाठ गर्न सुरु गरिसकेका छन् भने सुरक्षा र व्यवस्थापनका लागि स्थानीय तहको ध्यानाकर्षण गराइएको छ।
यद्यपि, देखिएको आकृतिको वैज्ञानिक वा आधिकारिक पुष्टि भने भइसकेको छैन। स्थानीय प्रशासनले शान्ति र सद्भाव कायम राख्न आग्रह गर्दै अफवाह नफैलाउन सबैलाई अनुरोध गरेको छ।