टिकटकमार्फत गालीगलजको आरोपपछि कचौरामा तनाव, कानुनी कारबाहीको माग
मनोज शाह जितपुर बारा २५ गते
कसुर गाउँका एक स्थानीय मुस्लिम समुदायका मन्जुर आलमले सामाजिक सञ्जाल टिकटकमार्फत हिन्दू समुदायलाई गालीगलज गरेको आरोप लागेपछि कचौरामा अहिले तनाबपूर्ण अवस्था सिर्जना भएको छ। उक्त भिडियो सार्वजनिक भएपछि स्थानीय बासिन्दाहरू आक्रोशित बनेका छन्।
कचौराका स्थानीय (आस्थानी)हरूले समुदायबीच सद्भाव बिगार्ने खालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै, गालीगलज गर्ने युवालाई समाजमा बोलाई छलफल तथा कानुनी प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। उनीहरूले यस्ता गतिविधिले सामाजिक शान्ति खल्बलिने भन्दै निष्पक्ष छानबिनको माग समेत गरेका छन्।
यस विषयमा सिम्रनगढ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम दिनेश प्रसाद यादवसँग कुराकानी गर्दा उहाँले भन्नुभयो, “कानुन विपरीत कुनै पनि गतिविधि सह्य हुँदैन। घटनाबारे जानकारी आएको छ, सत्यतथ्य बुझेर कानुनअनुसार आवश्यक कारबाही अगाडि बढाइन्छ।”
स्थानीय प्रशासनले पनि सबै पक्षलाई संयमित रहन आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ। स्थिति थप बिग्रन नदिन सुरक्षा निकाय सतर्क अवस्थामा रहेको बताइएको छ।