अङ्ग्रेजी नयाँ वर्षमा फरक उदाहरण: नारी शक्ति विकास मञ्चद्वारा वृद्धा आश्रममा खाद्य सामग्री वितरण
स्पर्श खबर जितपुर बारा पुस १७ गते
जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ मा रहेको नारी शक्ति विकास मञ्चकी अध्यक्ष आशा दाहालले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सामाजिक उत्तरदायित्वको अनुकरणीय कार्य गर्नुभएको छ। उहाँले जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पतल्यास्थित जेष्ठ नागरिक सम्मान वृद्धा आश्रम नेपालमा आश्रित १५ जना आमाबुवालाई बिस्कुट, चाउचाउ लगायतका खाद्य सामग्रीहरू वितरण गर्नुभएको हो।
अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा अधिकांश व्यक्तिहरू पिकनिक पार्क, रमणीय स्थल तथा मनोरञ्जनमा व्यस्त रहने समयमा आशा दाहालले भने फरक र प्रेरणादायी बाटो रोज्नुभएको छ। आफ्नै व्यक्तिगत खर्चबाट वृद्ध आमाबुवाहरूका लागि खानेकुरा वितरण गर्दै उहाँले नयाँ वर्षको वास्तविक सार सेवा, सद्भाव र मानवीयता भएको सन्देश दिनुभएको छ।
कार्यक्रमका क्रममा वृद्धा आश्रममा आश्रित आमाबुवाहरूले आशा दाहालप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले आफूहरूलाई आत्मीयता र अपनत्वको अनुभूति गराएको बताए। नारी शक्ति विकास मञ्चले आगामी दिनहरूमा पनि सामाजिक सेवाका यस्ता कार्यलाई निरन्तरता दिने अध्यक्ष दाहालले बताउनुभयो।
उहाँको यस कार्यले समाजमा नयाँ वर्षलाई केवल मनोरञ्जनमा सीमित नराखी असहाय, जेष्ठ नागरिक र आवश्यकतामा परेकाहरूसँग खुशी साट्ने संस्कार विकास गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।


