सिमरा समाजसेवी हिरा बस्नेतको धारणा : “जेन–जि अराजक गतिविधिमा लाग्ने समूह होइन”

सिमरा समाजसेवी हिरा बस्नेतको धारणा : “जेन–जि अराजक गतिविधिमा लाग्ने समूह होइन”

स्पर्श खबर जितपुर बारा मंसिर ६ गते:

समाजसेवी हिरा बस्नेतले सामाजिक सद्भाव, शान्ति र जिम्मेवार युवाको भूमिकाबारे आफ्नो फेसबुकमार्फत महत्वपूर्ण टिप्पणी गरेका छन्। उनले युवाहरूलाई सही कार्यका लागि प्रेरित गर्नुपर्नेमा जोड दिँदै केही गलत व्यक्तिको उक्साहटमा लागेर देशमा अराजक वातावरण बनाउन खोज्ने प्रवृत्तिको कडा विरोध गरेका छन्।

बस्नेतका अनुसार जेन–जि समुदायको उद्देश्य समाजमा अस्थिरता फैलाउने, राजनीतिक दलका कार्यक्रम अवरुद्ध गर्ने वा अराजकता सिर्जना गर्ने होइन। उनले लोकतन्त्रमा प्रत्येक समूहलाई आफ्नो अधिकारका साथ–साथै अरूलाई अवरोध नगरी अगाडि बढ्न सक्ने वातावरणको सम्मान गर्नुपर्ने बताए।

“हामी युवालाई राम्रो कामका लागि प्रोत्साहन गर्छौँ। गलत व्यक्तिको इसारामा परिचालित भई देशमा अराजकता फैलाउने, दलहरूको कार्यक्रम रोक्ने कार्य जेन–जिले गर्दैन,” उनले लेखेका छन्।
बस्नेतले कसैको उक्साहटमा लागेर गलत बाटो रोज्नु समाज र देश दुवैका लागि घातक हुने चेतावनी दिएका छन्। उनका अनुसार यस्ता गतिविधि दोहोरिरहे शान्ति, स्थायित्व र सामाजिक सद्भाव टिक्न गाह्रो बन्ने छ।

उनको अभिव्यक्तिले सिमरा क्षेत्रमा पछिल्लो समय देखिएका तनावपूर्ण घटनालाई लिएर युवालाई संयमित, जिम्मेवार र सकारात्मक भूमिकामा उभिन आव्हान गरेको बुझिन्छ।