सुर्वण गाउँपालिकामा GenZ अगुवा अजय यादव पक्राउ प्रकरण: युवाहरुले १२ बजेसम्म रिहा नगरे आन्दोलनको चेतावनी दिएको छ ।
स्पर्श खबर जितपुर बारा मंसिर २ गते:
बारा जिल्लाकाे सुर्वण गाउँपालिकाका GenZ अगुवा अजय यादवलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएपछिदेखि अहिले सम्म पनि रिहा नगरेको भन्दै स्थानीय युवा तथा GenZ समूह आक्रोशित बनेका छन्। पक्राउ परेका यादवलाई ‘आज छुट्छ’, ‘भोलि छुट्छ’ भन्दै प्रहरी प्रशासनले बारम्बार अल्मल्याउने मात्र काम गरेको आरोप GenZ समूहले लगाएको छ।
युवाहरूले यादवमाथिको कारबाहीलाई राजनीतिक प्रतिशोधको रूपमा नलिन चेतावनी दिँदै स्पष्ट धारणा राखेका छन्— “यसमा राजनीतिक बदला खोज्न पाइँदैन, यो सरासर अन्याय हो।”
समूहले अजय यादवलाई आज १२ बजेसम्म पूर्ण रूपमा रिहा नगरे कडा र ठोस कदम चाल्न बाध्य हुने जनाउँदै चेतावनीसमेत जारी गरेको छ।
युवाहरूले भनेका छन्, “अन्याय सहिँदैन, आवाज दबाइँदैन। न्याय नदिए सडकमा उत्रन हामी तयार छौं।”
स्थानीय युवा समुदाय घटनाक्रमप्रति चर्को असन्तुष्ट देखिएको छ भने प्रहरीले भने यस विषयमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन।


