जितपुरमा युवाहरूको श्रमदान , साझा अभियानमार्फत रातो पुल सरसफाई

जितपुरमा युवाहरूको श्रमदान , साझा अभियानमार्फत रातो पुल सरसफाई

स्पर्श खबर, जितपुर बारा, भदौ १४ गते
बारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिका–७ मा रहेको ऐतिहासिक रातो पुल वरपर क्षेत्र शनिबार बिहानैदेखि सरसफाई अभियानले नयाँ रूप लिन थालेको छ। ‘आफ्नो ठाउँ आफैं बनाउँ’ भन्ने नारा लिएर पत्रकार एस.एस. पटेलको नेतृत्वमा स्थानीय युवाहरूले श्रमदान गर्दै साझा अभियानको सुरुवात गरेका हुन्।

वर्षौँदेखि जंगली झाडीले ढाकिएको, उपेक्षित अवस्थामा रहेको रातो पुल आसपासको क्षेत्रलाई सफा गर्ने उद्देश्यसहित बिहान ५ बजेदेखि नै अभियान सुरु भएको हो। पुल वरपर दैनिक सयौँ मानिसहरू बिहान बेलुका आवतजावत गर्ने, व्यायाम गर्ने, हिँड्ने–डुल्ने स्थल भएकाले यसको सरसफाई अपरिहार्य भएको भन्दै पत्रकार पटेलले यसलाई “जितपुरको गौरवलाई सुरक्षित राख्ने पहिलो कदम” भनेका छन्।

यसअघि पनि साझा अभियानको टोलिले जितपुरसिमराका विभिन्न ठाउँमा श्रमदानमार्फत सडक, चोक तथा सार्वजनिक स्थल सरसफाई गर्दै आएको छ। उपमहानगरपालिकाले समेत ध्यान दिन नसकेको अवस्थामा युवाहरू आफैं जुटेर सरसफाई अभियान थालेको देख्दा स्थानीयवासी उत्साहित बनेका छन्। यसरी युवाहरूले समाजसेवा र श्रमदानको संस्कृतिलाई जोगाउँदै सामुदायिक एकताको उदाहरण पेश गरेका छन्।