स्पर्श खबर जितपुर बारा साउन २७ गते
प्रसौनी–नकटुवा–वीरगन्ज सडक वर्षौँदेखि अलपत्र, आजपा द्वारा सडक निर्माण गर्न जोडदार माग
वीरगन्ज — आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहाले प्रसौनी नकटुवा हुँदै वीरगन्जलाई जोड्ने महत्वपूर्ण सडक वर्षौँदेखि अलपत्र परेको भन्दै तत्काल निर्माण कार्य सुरु गर्न सरकारसँग जोडदार माग गरेका छन्।
अध्यक्ष कुशवाहाका अनुसार, यो सडकको जीर्ण अवस्था र निर्माणमा ढिलाइका कारण स्थानीय बासिन्दा वर्षौँदेखि दुर्गति भोगिरहेका छन्। स्थानीय युवाहरूले पटक–पटक सडक निर्माणको माग राख्दा पनि कुनै ठोस कदम नचालिएको उनले आरोप लगाए।
उनले सो सडक निर्माणमा प्रगति नहुनुमा यस क्षेत्रका प्रतिनिधि सभा सदस्य माननीय किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनलको असक्षमता प्रमुख कारण भएको दाबी गरेका छन्। “जनताले भोगिरहेको पीडा बुझ्ने संवेदनशीलता जनप्रतिनिधिमा देखिएन, जसका कारण यो सडक अझै कालोपत्र हुन सकेको छैन,” कुशवाहाले भने।
उनले सडकको दुर्दशाका कारण यातायातमा असुविधा, आर्थिक गतिविधिमा अवरोध र दुर्घटनाको जोखिम समेत बढेको बताए। स्थानीय व्यापार र कृषिजन्य सामग्रीको ढुवानीमा समेत ठूलो समस्या देखिएको उनको भनाइ छ।
अध्यक्ष कुशवाहाले केन्द्र र प्रदेश दुवै सरकारलाई तत्काल बजेट विनियोजन गरेर प्रसौनी–नकटुवा–वीरगन्ज सडकलाई प्राथमिकतामा राखी कालोपत्रे गर्न आग्रह गरेका छन्। उनले चेतावनी दिँदै भने, “यदि सरकार मौन रह्यो भने जनताको दबाब स्वरूप सडक आन्दोलनमा जान हामी बाध्य हुनेछौँ।”
।


