विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा स्वर्ण पदक ल्याउन सफल नेपाली सेना

कात्तिक । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा स्वर्ण पदक ल्याउन सफल नेपाली सेनाका टोलीलाई आज प्रधानसेनापति अशोक राज सिग्देलले सम्मान गरेका छन् ।

संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज १८ गतेदेखि २७ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको थियो । उक्त टोलीमा सहभागीहरूले आज नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच सेनापति सिग्देलेले ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप प्रतियोगितामा सहभागी नौ जना प्रतियोगी र एक जना व्यवस्थापक सहित दश जना सकलदर्जालाई ‘प्रधानसेनापति प्रशंसा निशान’ द्वारा सम्मान गरिएको हो।

यो पढ्न छुटाउनु भयो कि
. सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
. दक्षिण सुडानमा नेपाली शान्ति सैनिकहरुको अदलीबदली
. संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन प्रस्थान
. प्रधानसेनापतिसँग श्रीलंकाका राजदूतको शिष्ट्राचार भेट
. नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने
संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका १२१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ।

उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ समेत ३ पटक स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।