प्रभु साह नेतृत्वको आजपाद्धारा मधेसमा आम शैक्षिक हडतालको घोषणा

प्रभु साह नेतृत्वको आजपाद्धारा मधेसमा आम शैक्षिक हडतालको घोषणा


प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले मधेसमा विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षकको माग गर्दै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका बिभिन्न कार्यक्रम गर्ने जनाएको ।

आजपाका वरिष्ठ उपाध्यक्ष एवं मधेस प्रदेशका इन्चार्ज उपेन्द्र साह र अध्यक्ष उमेश कुशवाहाले आज एक बिज्ञप्ती जारी गर्दै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेका छन् । हालै काठमाडौंमा सम्पन्न भएको आजपाको केन्द्रीय कमिटी बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तेस्रो आन्दोलनको पूर्व तयारीमा आन्दोलनका बिभिन्न चरणबद्ध रणनीति पेश गर्दै सोही अनुसार आन्दोलनको कार्यक्रम आएको छ ।

आजपाले मधेसका जिल्लाहरुमा भदौ २५ गतेदेखी ३० गतेसम्म प्रत्येक विद्यालयहरुमा संघर्ष समिति गठन गर्ने, असोज २ गतेदेखी ४ गतेसम्म विद्यार्थीहरुको विशेष प्रर्दशन गर्ने, असोज ३ गते संविधानको अन्त्यष्टी यात्रा प्रत्येक जिल्लामा निकाल्ने र वीरगंज, जनकपुरमा विशेष प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरिएको छ ।

यसैगरी असोज ९ गते देखी २० गतेसम्म प्रत्येक जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्थाको बिषयमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गर्ने र कार्तिक ५ गतेदेखी आम शैक्षिक हडताल गर्ने घोषणा आजपाले गरेको छ ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारसंग पटक पटक माग गर्दा समेत सरकारले कुनै सुनुवाई नगरेका कारण बाध्यभएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए । यस बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएको तर सरकारले नसुने जस्तो गर्दै आएको आरोप उनले लगाए ।

शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था मन्त्रालयले नगरेको आजपा केन्द्रीय सदस्य तथा लेखक डा. हेमप्रसाद साहले जनाएका छन् ।