महासंघको सबै तहको निर्वाचन २०८१ असोज ५ गते एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार

महासंघको सबै तहको निर्वाचन २०८१ असोज ५ गते एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार


नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक पत्रकारिता, श्रम अधिकार र नागरिक अधिकारको पक्षमा निरन्तर क्रियाशील नेपाली पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघको महाधिवेशन सम्पन्न भई निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने विषयमा केही विलम्ब हुनगएको सन्दर्भ यहाँहरूमा विदितै छ ।

नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आमपत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता स्वाभाविक छ ।

समग्र नेपाली पत्रकारिता जगत संकटको घेरामा परेको बेला महासंघको नेतृत्व समयमै चयन भई आइपर्ने सबैखालका चुनौती सामना गरेर समग्र नेपाली सञ्चार क्षेत्रकै नेतृत्व लिनुपर्ने आवाज आफैंमा महत्वपूणर्मात्र होइन महासंघप्रतिको भरोसाका रुपमासमेत लिन सकिन्छ । केही अप्ठ्याराहरूका बीच पनि महासंघ आफ्नो उद्देश्य र गन्तव्यमा प्रष्ट रहेको विश्वास दिलाउन चाहन्छ ।
महासंघ आफैंमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्यौल र अलमल देखिन पुगेको स्पष्ट पार्न चाहन्छु । घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जे जस्ता भए पनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्दछु । महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुसरण गदै नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सच्चिनु पर्ने आवश्यकता महसुस गरेको छु ।

महासंघमा लामो समयदेखि वहसमा रहेको सदस्यता शुद्धीकरणमा यो पटक महत्वपूणर् उपलब्धि हासिल भएको छ । यो पटकको प्रयासवाट भएको सदस्यता शुद्धीकरणले पेशागत शुद्धता र महासंघको शुद्धीकरणका लागि महत्वपुणर् हुने विश्वास लिएको छु । शुद्धीकरणका क्रममा भएका त्रुटिहरू क्रमशः सच्याउनु पर्ने आवश्यकतासमेत देखेको छु ।

महसंघको सबैखाले अभियानमा महत्वपूणर् साथ, सहयोग र रचनात्मक उर्जा दिने सबै साथीहरूप्रति आभार प्रकट गर्दै मिति २०८१ असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँदछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह गर्दछु ।

विपुल पोख्रेल
अध्यक्ष