मधेस प्रदेशका मुख्यमन्त्री सिँह द्वारा अस्पताल अनुगमन

स्पर्श खबर जितपुर बारा भदौ ९ गते:

मधेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार राति ११ बजे अचानक जनकपुरधामस्थित प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् ।

अस्पतालको सेवासुविधामा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आउन थालेपछि मुख्यमन्त्री सिँहले आज अबेर राति अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघन कक्ष लगायत निरीक्षण गरेका हुन् । त्यसक्रममा उनले ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सँख्या र कार्यविभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितता आदिका बारेमा जानकारी लिए ।

साथै अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक औषधि राख्न सम्बन्धित कर्मचारीलाई निर्देशनसमेत दिए । उनले निरीक्षण अवधिमा केही बिरामी र तिनका कुरुवासँग पनि अस्पतालका सेवासुविधाका बारेमा जानकारी लिए । बिरामी र कुरुवाका गुनासा सुनेपछि मुख्यमन्त्री सिँहले ती समस्यालाई तत्काल सम्बोधन गर्न प्रतिष्ठानका रजिस्ट्रार डा.विनोदकुमार यादवलाई त्यहीँ निर्देशन दिए । अस्पतालमा बिरामीको चाप छ ।

अस्पतालमा भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थपिँदै गएका छन् । अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवासुविधा उन्नत बनाउन र विविद्यीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सिँहले बताए ।