काभा वुमन्स नेसन्स लिग : नेपालले उपाधिका लागि आज भारतसँग भिड्ने

काठमाडौं : घरेलु टोली नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिग महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो।

नेपालले बुधबार उपाधिका लागि दक्षिण एसियाली पावर हाउस भारतको सामना गर्नेछ। नेपालले यसअघि राउन्ड रोबिन लिगमा भारतलाई पराजित गरिसकेको छ। यसअघि दक्षिण एसियामा दबदबा बनाउँदै आएको भारतलाई पहिलो पटक हराएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले भारतलाई २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले पराजित गरेको थियो।

नेपालले लिग चरणमा भोगेको हारको बदला लिँदै इरानलाई ३–० को सोझो सेटमा पाखा लगाएको हो। पहिलो सेटमा २५–२१ ले नतिजा आफ्नो पक्षमा पारेको नेपाल दोस्रो सेटको अन्त्यतिर भने दबाबमा परेको थियो।नेपालले ६ अंकको अग्रता गुमाउँदा इरानले २४–२१ को अग्रता बनाएको थियो। त्यसपछि खेलमा फर्किएको नेपालले लगातार तीन अंक जोड्दै खेललाई २४–२४ मा पुर्‍याएको थियो। त्यसपछि नेपालले दोस्रोे सेट २८–२६ ले जित्दै खेलमा २–० को अग्रता बनाएको थियो। तेस्रो सेट लगातार टक्कर दिए पनि नेपालले २५–२० ले जित निकालेको थियो।

आइतबार भएको राउन्ड रोबिन लिगको आफ्नो तेस्रो खेलमा नेपाल इरानसँग ३–२ सेटले पराजित भएको थियो। निकै रोमाञ्चक खेलमा इरानले २५–१६, १६–२५, २५–२३, १५–२५, १५–१३ ले जित निकालेको थियो। नेपालले लिग चरणमा भोगेको हारको बदला लिँदै इरानमाथि प्रभावशाली जित निकालेको हो। राउन्ड रोबिन लिगबाट नेपाल दोस्रो र इरान तेस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए।

यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–० ले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो। एकपक्षीय खेलमा भारतले २५–१५, २५–१६, २५–२३ ले जित निकालेको हो। सभार अन्पुर्णा । भारत नेपालसँग उपाधिका लागि खेल्दा श्रीलंकाले तेस्रो स्थानका लागि इरानको सामना गर्ने छ।