बारामा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्रीको भव्य स्वागत तथा सम्मान : मधेसको शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि आफू प्रतिबद्ध रहेको शिक्षा मन्त्रीको भनाइ

बारामा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्रीको भव्य स्वागत तथा सम्मान : मधेसको शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि आफू प्रतिबद्ध रहेको शिक्षा मन्त्रीको भनाइ

रन्जित कुमार चाैधरी , जीतपुर बारा, चैत्र १५ गते

 

गत निर्वाचनमा पर्सा ३ (क) बाट स्वतन्त्र उम्मेदवारको रुपमा लोकप्रिय मत ल्याएर जनताहरुको मन जित्दै निर्वाचित भएका स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जयसवालज्यूले गत शनिबार नेकपा एमालेको तर्फबाट मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रीको पदभार ग्रहण गरेलगत्तै सफल कार्यकालको शुभकामना तथा बधाई दिनेहरुको ओइरो लागेको छ ।

 

मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ ग्रहण गरेपछि माननीय प्रमोद कुमार जयसवालज्यू आफ्नो क्षेत्रका जनताहरुसँंग भेटघाट गर्न पर्सा जिल्लामा व्यस्त रहँदा बारा जिल्लाको जीतपुरमा पनि आज एक कार्यक्रमका बीच उहाँको भव्य स्वागत एवम् सम्मान गरिएको छ । नेपाल सितोरियो कराते जीतपुरले आयोजना गरेको कार्यक्रममा नेपाल सितोरियो कराते शाखा जीतपुरका प्रशिक्षक मनोज कुमार शाहले मायाको चिनो प्रदान गरी माननीय मन्त्रीज्यूको स्वागत, सम्मान तथा शुभकामना व्यक्त गरेका थिए ।

 

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ मा नेपाल सितोरियो कराते शाखा जीतपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्रीज्यूले मधेस प्रदेशको शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रत्येक बालबालिकाको उज्ज्वल भविष्यको निर्माण यहाँका सामुदायिक विद्यालयबाट पनि सम्भव छ भन्ने कुरामा जोड दिँदै आफूले पाएको जिम्मेवारीलाई इमानदारीताका साथ पूरा गर्दै समग्र मधेस प्रदेशको शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि नयाँ भिजनका साथ अगाडि बढ्ने कुरा मन्त्रीज्यूले बताउनुभयो । सामुदायिक विद्यालयमा गरिएको लगानीको सही सदुपयोग गरी प्रत्येक बालबालिकाको उज्ज्वल भविष्य निर्माणको लागि आफूले अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आश्वासन उहाँले व्यक्त गर्नुभयो ।

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ मा नेपाल सितोरियो कराते शाखा जीतपुरले आयोजना गरेको कार्यक्रममा कलवार कल्याण समितिका अध्यक्ष कन्हैया गुप्ता, जीतपुर युवा क्लबका अध्यक्ष भुनेश पासवान, ठेला संघका अध्यक्ष महेन्द्र पासवान , सहयाेगी हात नेपालका अध्यक्ष देवानन्द साह, सन राइज युवा क्लबका अध्यक्ष वन्दना चाैधरी, व्यापारी पप्पु साह, सुरेस साह, महिला नेतृ दिपु पासवान, ट्राफिक प्रहरी जीतपुरका प्रमुख बब्लु ठाकुर  लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी, खेलाडीहरुको समेत उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजीकरण पत्रकार एस्एस पटेलले गर्नुभएको थियो ।