आयोगको विज्ञप्तिले उपेन्द्र यादव दङ्ग, प्रभु साह दुःखी

आयोगको विज्ञप्तिले उपेन्द्र यादव दङ्ग, प्रभु साह दुःखी

मनाेज साह जितपुर बारा माघ २१ :

राष्ट्र मानवअधिकार आयोगले गौर नरसंहारमा दोषीहरुलाई कारवाहीको सिफारिस गरेपछि कतै खुशियाली छाएको छ भने कतै रोदन सुनिएको छ ।

गौर नरसंहारमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहित करिव चार दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुलाई कारवाहीको माग गर्दै पीडित भनिएकाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाका थिए । तर, आयोगले जारी गरेको विज्ञप्तिमा उल्टै आम जनता पार्टीका अध्यक्ष प्रभू साह सहितका व्यक्तिलाई कारवाहीकोलागि सिफारिस गरेपछि सामाजिक सञ्जालमा खुशियाली र रोदन दुवै हेर्न पाइएको छ ।

सो विज्ञप्तिका कारण उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका नेताहरू खुसीयाली मनाइरहेका छन् भने प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेताहरू दुःख व्यक्त गरिरहेका छन् । आयोगले मानवअधिकार उल्लङ्घनका दोषीहरूलाई कारबाहीका लागि सिफारिस गरेको छ । सभार यात्रा डेलि |आयोगले ३२ जना नेपाल प्रहरीलाई कारबाहीका लागि सिफारिस गरेको छ भने राष्ट्रिय अनुसन्धान, नेपाली सेना र सशस्त्र प्रहरीका एक–एक जना, निजामती कर्मचारीका १२ जना, तत्कालीन नेकपा माओवादीका १० जनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।

कारबाहीका लागि सिफारिस भएका तत्कालीन माओवादी नेताको नामावलीमा प्रभू साहको नाम पनि रहेको छ । उनले अहिले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् ।

गौर घटनाका मुख्य दोषीको रूपमा आयोगले कारबाहीका लागि प्रभु साहको नाम सिफारिस गरेको हो भन्ने बुझाई जसपा नेपालको रहेको छ । उक्त पार्टीका नेताहरूले सो विज्ञप्तिलाई सामाजिक सञ्जालमा सेयर गर्दै प्रभू साहलाई कारबाहीको माग समेत गरिरहेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले प्रभू साहलाई अविलम्ब पक्राउ गरी जेल हाल्न आग्रह गरेको छ । अध्यक्ष यादवको सचिवालयले शुक्रवार एक प्रेस नोट सार्वजनिक गर्दै सो आग्रह गरेको हो ।

गौर घटनाका मुख्य दोषी उपेन्द्र यादव भएको र उनलाई कारबाही हुनुपर्छ भन्दै गरिएको आन्दोलनमा साहले सहयोग गरेका थिए । त्यसलगत्तै आन्दोलनकारी र सरकारबिच भएको सम्झौतामा गौर घटनाको फाइलमाथि छानबिन गर्ने सहमति भएको थियो । सो घटनामा यादव दोषी भएको र कारबाही हुनुपर्ने माग गर्दै आएका प्रभू साहलाई मानवअधिकार आयोगले कारबाहीका लागि सिफारिस गरेपछि जसपाका नेताहरू खुसी देखिन्छन् । यादवको सचिवालयले भनेको छ, ‘राष्ट्रिय मानव अधिकार आयोगको विज्ञप्तिले प्रस्ट भइसक्यो, गौर घटनाको मुख्य अभियुक्त को हो । प्रभु साह अपराधी हुन् ।

आयोगले नामै तोकेर गौर घटनाको मुख्य अपराधी किटान गरिसकेका साहलाई सरकारले तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन ढिलाइ गर्न हुन्न ।’ सचिवालयको विज्ञप्तमा भनिएको छ–‘गौर हत्याकाण्ड मच्चाएका यी तिनै साह हुन्, जसले आफ्नो अपराध कर्म ढाकछोप गर्न जसपाका निर्दोष नेता कार्यकर्तालाई फसाउन कुनै हत्कन्डा बाँकी राखेनन् ।

सूर्यलाई हल्केलाले छेक्न असम्भव भए जस्तै समय लाग्न सक्छ तर भ्रम छर्दैमा यथार्थ एक दिन बाहिर आउँछ नै ।’ आयोगले विज्ञप्ति मार्फत नै गौर घटनाको सत्यता र अभियुक्तहरू प्रस्ट पारिसकेकोले साहले कुनै पनि हालतमा उन्मुक्ति पाउने नहुने सचिवालयको विज्ञप्तिमा उल्लेख छ । साहलाई अविलम्ब पक्राउ गरी जेल हाल्न समेत सचिवालयले आग्रह गरेको छ ।

यता, आजपाका अध्यक्ष प्रभू साहले दोषी पुष्टि गर्न मानवअधिकार आयोगलाई चुनौती दिएका छन् । उनले भनेका छन्, ‘मैले कुन घट्नामा कहिले र कसको मानवअधिकार उल्लङ्घन गरेको छु ? घट्नाको सत्य, तथ्य सार्वजनिक गर ।’ बिना आधार कसैको चरित्र हत्या गर्नु आफैँमा मानवअधिकारको उल्लङ्घन रहेको भन्दै उनले मानव अधिकारजस्तो सम्मानित संस्थाको पदमा बसेर पूर्वाग्रह साध्ने, कुण्ठा पोख्ने र जनतालाई भ्रमित पार्ने कार्य आफैँमा आपराधिक कार्य रहेको उल्लेख गरेका छन् । यस कार्यमा संलग्न आयोगका पदाधिकारीहरूले आफ्नो कमजोरी तत्काल नसच्याए आयोगउपर कानुनी लडाइँ लड्न बाध्य हुने चेतावनी समेत साहले दिएका छन् ।