मनहर्वा गोल्डकपको तेस्रो संस्करण माघ १३ गते देखी

सेयर गर्नुहोस्

बारा, पुस २८ गते ।

माघ १३ गतेबाट तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ स्थीत मौवादेवी यूवा क्लबले शनिबार बडहर्वामा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।

प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने भएको छ । माघ २० गते सम्म चल्ने प्रतियोगितामा नव दुर्गा युवा क्लब सिमरा, हानामी बि.एफ.सि चितवन, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, बागमती युवा क्लब सर्लाही, रौतहट एफ.सि. रौतहट, नमस्ते युवा क्लब हरिवन, बिरगंज युनाईटेड बिरगंज र आयोजक श्री मौवा देवी युवा क्लब सहभागि हुने भएका छन् । नव दुर्गा युवा क्लब सिमरा दोस्रो मनहर्वा गोल्ड कपको बिजेता समेत हो ।

प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले एकलाख रुपैंया पुरस्कार पाउने छन् । यस्तै फेयर प्लेको आधारमा सेमि–फाईनको दुई टिम मध्ये कुनै एक टिमलाई नगद २५ हजारको फेयर प्ले अवार्ड प्रदान गरिने छ ।

यसैगरी २० हजारको एकजनालाई सर्वोत्कृष्ट खेलाडी पुरस्कार, प्रतियोगिता भरिकै सर्वाधिक गोल कर्ता (हाई स्कोरर) लाई नगद २० हजार, विधागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षकलाई १५ हजार, डिफेन्स, मिड फिल्डर एकएक जनालाई नगद १० हजारका दरले प्रदान गरिने भएको छ ।

त्यसैगरी उत्कृष्ट टिम प्रशिक्षक, टिम म्यानेजरलाई जनही ५ हजार, स्थानिय उदयीमान खेलाडी पुरस्कारबाट एकजनालाई ५ हजार र प्रत्येक दिनको उत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच) नगद २ हजार ५ सय प्रदान गरिने आयोजक क्लबका अध्यक्ष निर्मल कुमार यादवले जानकारी दिए ।

जिल्लाको मध्य स्थानमा रहेको बडहर्वा खेल मैदान दर्शकहरुको उपस्थीतिका हिसावले उत्कृष्ठ प्रतियोगिता बन्दै आएको छ । यहाँ दैनिक हजारौं दर्शक स्वस्फूर्त खेल हेर्न आउने गरेको छन् ।

एकहजार जना दर्शक अटाउन सक्ने प्याराफिट समेत रहेको बडहर्वा खेलमैदानमा यस अघि २०६९ मा पहिलो र २०७१ मा दोस्रो मनहर्वा गोल्डकप सम्पन्न भएका थिए । पहिलो प्रतियोगिताको उपाधी एपिएफ पिलुवा र दोस्रो नव दुर्गा युवा क्लब सिमराले जितेका थिए । यस्तै पहिलो प्रतियोगितामा नव दुर्गा युवा क्लब सिमरा र दोस्रोमा एपिएफ पिलुवा उपविजेता थिए ।

पहिलो प्रतियोगिताको पुरस्कार राशी २५ र १५ हजार रुपैयाँ थियो । भने दोस्रोमा १ लाख १ रुपैंया र ५१ हजार १ रुपैंया थियो । दोस्रो प्रतियोगिता सम्पन्न भएको ९ बर्षपछी तेस्रो मनहर्वा गोल्डकपको आयोजना गर्न लागिएको हो ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८का अध्यक्ष चतुरबाबु वाग्लेको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष निर्मल कुमार यादव, क्लबका पूर्व अध्यक्ष बसन्त खतिवडा, खेलकुद पत्रकार मंच बाराका अध्यक्ष सुनिल गाउँले,सल्लाहकार समितिका सदस्यहरु एवं पधादिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम मिडिया संयोजक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।