जीतपुरसिमराको खैर्वामा आजदेखि थारु माघी उत्सव

बारा, पुस २९ गते ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ खैर्वा खेल मैदानमा आइतबारदेखि दुई दिने थारु माघी (तिला संक्रान्त) संस्कृति उत्सव सुरु भएको छ । उत्सवको एक कार्यक्रमकाबीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन गरेका छन् ।

थारु समुदायले हर्ष उल्लासका साथ मनाउने माघी पर्वको अवसरमा जीतपुरसिमरा ११ मा पहिलोपटक कार्यक्रम आयोजना गरिएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ को कार्यालयको मुख्य सहयोग र थारु कल्याणकारिणी सभाको नेतृत्वमा कार्यक्रम आयोजना हुदैछ।

कार्यक्रम आयोजनाका लागि थारु माघी (तिला संक्रान्त) संस्कृति उत्सव मूल आयोजना समिति गठन गरिएको छ । समितिको नेतृत्वमा आयोजना हुने दुई दिने कार्यक्रममा थारु समुदायको संस्कृति झल्कने नृत्य तथा अन्य प्रस्तुति, थारु आइडल, बाल उद्यान, विभिन्न स्टल रहेका छन् ।

कार्यक्रम अवधीभर झुमरा, झुमटा, पुर्वी, लगनी, विरहनी, सोहर गीत, हरफरौरी, सामाचकेवा, घाटो, जाट जाटीन, स्टिक र ठकारा नृत्यु प्रस्तुत हुने आयोजक समितिका प्रदिप गौतमले जानकारी दिए । दुई दिने कार्यक्रममा थारु कलाकार खेम चौधरी, राजीव चौधरी, सगुन चौधरी र सुनिल विश्वकर्माको प्रस्तुति रहनेछ ।

कार्यक्रमको कुल अनुमानित लागत आठ लाख पाँच हजार रहेको बताईएको छ ।