यू–१९ एसिया कपः नेपालको पहिलो खेल पाकिस्तानसँग

सेयर गर्नुहोस्

काठमाडौं,कात्तिक २२-

एसीसी पुरुष यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले मंसिर २२ गते पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र भारत छन् ।

नेपालले आफ्नो दोस्रो खेलमा मंसिर २४ गते अफगानिस्तानसँग खेल्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर २६ गते भारतसँग खेल्नेछ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंसिर २२ गतेदेखि सुरु हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल मंसिर २९ गते र फाइनल पुस १ गते हुनेछ ।