अदालतबाटै पिडित छन् सेवाग्राही, सर्वोच्चको फैसलालाई चलन चलाउने ठाँउमा दिइयो साधारण तारिख

बारा, असोज २५ गते ।

जिल्ला अदालत बाराको कर्मचारीहरुको मिलोमतोमा सर्वोच्चले फैसला गरिसकेको मुदाको विपक्षीलाई एक महिनाको साधारण तारिख दिइएको पाइएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सार्वजनिक सडक मिचेर घर बनाएको मुदामा सर्वोच्चले फैसाला सुनाए पनि जिल्लाले त्यसलाई चलन चलाउनु पर्ने ठाँउमा साधारण तारिख दिइएको पाइएको हो ।

निवेदकले यस विषयमा विरोध जनाउदा जिल्ला अदालतका कर्मचारीले सर्वोच्चको फैसलाको मिसिल नआएको भन्दै पन्छिन खोजे तर निवेदकले यस विषयमा खोज्दा सर्वोच्चको मिसिल पहिलानै आइसकेको थियो । निवेदक अदालत पुग्दा सम्म अदालतका कर्मचारीहरु विपक्षी संग मिलेर विपक्षीलाई हतारमा साधारण तारिख दिइएर घर पठाइसकेका थिए ।

साधारण तारिख दिएको विषयमा निवेदकले होहल्ला गर्दा निवेदकको तारिख पर्चा सम्मेत खोसिएको थियो । पछि उनलाई नँया तारिख पर्चा बनाएर दिइएको पाइएको छ । जीतपुरको किता नम्बर ३६१० को सार्वजनिक सडकको जग्गा मिचेर विपक्षीले घर बनाएको ठहर गर्दै सर्वोच्च अदालतले समेत उक्त सार्वजनिक जग्गा खालि गर्न फैसला सुनाइसकेको छ । तर जिल्लाले उक्त फैसलाको चलन चलाउनमा ढिलाइ गरिरहेको छ ।

यता साधारण तारिख पाएका विपक्षले केही दिनपछि आफ्नो घरमा जिल्ला अदालत बाराका कर्मचारीहरुलाई बोलाएर भोजभतेर गराएको निवेदकले बताएकी छन् । अदालतको कर्मचारीहरु भोजभतेर गर्न आएको बेला आफुहरु भिडियो समेत खिचेको बताएकी छन् । यसरी सर्वोच्चले फैसला गरिसकेको मुदामा जिल्ला अदालतले साधारण तारिख दिएर विपक्षीको घरमा आएर भोजभतेर गर्दा विपक्षी संग अदालतका कर्मचारीहरु मिलेर निवेदकलाई दुख दिन खोजेको प्रष्ट हुन्छ ।