जीतपुरसिमराका करदातालाई राजश्व सम्बन्धि शिक्षण

बारा, असोज २२ गते ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले उद्योगी तथा व्यापारीहरुलाई राजश्व सम्बन्धि शिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले आफ्नो मुख्य कार्यालय जीतपुरको आफ्नै सभाहलमा उद्योगी तथा व्यवसायीहरुलाई कर शिक्षा सम्वन्धी तालिम सम्पन्न गरेको हो ।

कार्यक्रममा व्यवसायी तथा उद्योगीहरुलाई कर तथा राजश्व सम्वन्धी जानकारी र आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्ने कागजात चुस्तदुरुस्त राख्ने सम्वन्धी शिक्षण दिइएको थियो ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख राजकुमार खतिवडा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा राजश्व कार्यालयका कर अधिकृत पप्पु कुमार गुप्ताले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा प्रमखु अतिथि आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख राजकुमार खतिवडा उद्योगी तथा व्यवसायीहरुलाई करको दायरा र राजश्व समयमै तिर्दा हुने फाइदा र वेफाइदाहरु बारे जानकारी गराएका थिए । साथै उँहाले कुनैपनी व्यवसायी र उद्योगीहरुलाई राजस्व कार्यालयले दुःख दिने मनसाय कहिले नराख्ने भन्दै अति सामान्य कुरामा ध्यान नदिँदा पछी ठुलो समस्या हुने भएकाले राज्यलाई कर तिर्न ठिलासुस्ती गर्न नहुने बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले कर कार्यालय र उद्योग व्यवसायीको सम्वन्ध सुमधुर हुनुपर्ने धारणा राख्नु भयो । उँहाले कुनैपनी व्यवसाय संचालन गर्नुअघि कर कार्यालयमा दर्ता भईमात्र गनुपर्ने भन्दै आर्थिक मन्दिका बिच व्यवसायमा नकारात्मक असर परेको अवस्थाले अनुगमनलाई जरिवानामा मात्रै केन्द्रित नगर्नहुन राजश्व कार्यालयलाई ध्यानाकर्षण समेत गराउनु भयो ।

कार्यक्रममा करिव २ सय व्यवसायी तथा उद्योगीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण नगर उद्योग वाणिज्य संघका महासचिव प्रकास गिरीले गर्नुभएको थियो ।