अनलाइन क्यासिनो (जुवा) खेलाउने चारजना पक्राउ, पक्राउ पर्नेमा दुई जना जितपुरसिमराका

सेयर गर्नुहोस्

बारा, असार १२ गते ।

अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले बारा जिल्लाको जितपुरसिमराका दुई जनासहित चार जनालाई पक्राउ गरेको छ । वान एक्स बेटसहित अन्य विभिन्न अनलाइन क्यासिनो गेम (जुवा) मा अनलाइनमार्फत सट्टाबाजी गराई खेल खेलाउने गरेको पाइएपछि उनिहरुलाई पक्राउ गरिएको हो ।

काठमाडौँका विभिन्न ठाउँमा बसोबास गर्ने व्यक्तिहरूले विभिन्न अनलाइन जुवामा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी सट्टाबाजी गराई खेल खेलाउने गरेको पाइएको प्रहरीले बताएको छ ।

गोप्य सूचनाका आधारमा उनिहरुमाथी निगरानी राखी खोजतलास गर्दै जाँदा काठमाडौँ महानगरपालिका–१४ कलङ्कीसहित, ठमेल र बालाजु हाइटलगायतका क्षेत्रबाट उनीहरूलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा बुझाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु संग सोधपुछ गर्दा उनीहरूले मोबाइलमा विभिन्न जुवा खेलाउने अनलाइन एप्लिकेसन र वेबसाईटको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरूमा अनलाइन रकमको बाजी राख्न लगाई जुवा खेलाउने गरेको खुलेको छ । उनीहरूले आर्थिक लाभका लागि कुराकानी गरेको अनलाइन विवरणसमेत फेला परेको छ ।

पक्राउ परेकाहरूमा बारा जितपुरसिमरा घर भई काठमाडौँको कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, सोही ठाउँका विवेक चौधरी, काठमाडौँको ठमेल बस्ने रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका घर भई काठमाडौँको ठमेल बस्ने आशा गुरुङ रहेका छन् ।