उद्घाटनमै सिमरा भेट्रानको गर्जन : चितवनलाई ३–१ ले हराउँदै विजयी सुरुआत
स्पर्श खबर जितपुर बारा असाेज १८ गते। जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८३ को उद्घाटन खेलमै आयोजक सिमरा भेट्रान क्लबले दमदार सुरुआत गरेको छ। सिमरा रंगशालामा भएको खेलमा सिमरा भेट्रानले स्टार स्पोर्ट युवा क्लब माडी, चितवनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।
खेलको सुरुदेखि नै आक्रामक देखिएको सिमरा भेट्रानले चितवनमाथि दबाब कायम राख्दै तीन गोल गर्न सफल भयो। चितवनले एक गोल फर्काए पनि आयोजक टोलीको लय रोक्न सकेन। जितसँगै सिमरा भेट्रानले प्रतियोगितामा महत्वपूर्ण ३ अंक जोडेको छ।

महिला फुटबलको विकास, महिला खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर तथा खेलमार्फत स्वास्थ्य, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
असोज २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेल फ्लडलाइटमा साँझ ६ बजेबाट हुनेछन्। प्रतियोगितामा नेपालका विभागीय तथा क्लब टोलीसहित भारतका दुई टोली गरी ८ टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, स्टार स्पोर्ट युवा क्लब माडी, फेयर फुटबल क्लब धरान, कुर्साङ गोल्स फुटबल क्लब दार्जिलिङ, झारखण्ड स्टेट स्पोर्ट्स प्रमोशन सोसाइटी र आयोजक सिमरा भेट्रान क्लब सहभागी छन्।
प्रतियोगिताको विजेताले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ तथा इमर्जिङ प्लेयर र प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५–५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको पहिलो चार खेलका लागि ५० रुपैयाँ, सेमिफाइनलका लागि १ सय रुपैयाँ र फाइनलका लागि २ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ। टिकटबाट उठेको रकमको १० प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढी प्रभावितको पुनःस्थापनामा सहयोग गर्ने आयोजकको निर्णय छ।
प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रीम इनर्जी ड्रिङ्क्स रहेको छ भने जीतपुरसिमरा उपमहानगरपालिका तथा २४ वटै वडा कार्यालय मुख्य सहयोगीका रूपमा रहेका छन्। नेपाल लुब आयल, हुलास स्टील र नेपोभिट टाइल्स को–स्पोन्सरका रूपमा जोडिएका छन्।