पुल नहुँदा निजगढका जनता खोलावारी–पारि थुनिए, बाढी आएपछि विद्यार्थी र बिरामीको बेहाल
मनाेज शाह जितपुर बारा असाेज १३ गते:
बारा जिल्लाको निजगढ नगरपालिका–११ र १२ बीचमा पर्ने खयर र भक्तखोलामा पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्न बाध्य भएका छन्।

खोलामा बाढी आएपछि दुई वडाका नागरिकबीचको आवतजावत ठप्प हुने गरेको छ भने विद्यार्थी, बिरामी तथा दैनिक कामकाजका लागि ओहोरदोहोर गर्ने सर्वसाधारण थप जोखिममा पर्ने गरेका छन्।
स्थानीयका अनुसार निर्वाचनका बेला पुल बनाउने आश्वासन दिने जनप्रतिनिधि चुनाव जितेपछि समस्या हेर्नसमेत नआएको गुनासो छ।

स्थानीय आस्थानीय श्रेष्ठले निर्वाचनको समयमा ठूला–ठूला आश्वासन दिए पनि चुनावपछि जनप्रतिनिधिले जनताको समस्या बेवास्ता गरेको आरोप लगाइन्। उनले भनिन्, “जब–जब निर्वाचन आउँछ, पुल बनाइदिन्छौं भनेर ठूला कुरा हुन्छन्। चुनाव जितिसकेपछि फर्केर हेर्नसमेत आउँदैनन्। खोलामा बाढी आउँदा विद्यार्थीको आवतजावतदेखि सर्वसाधारणको जीवन नै कष्टकर हुन्छ।”
अर्का स्थानीय स्याङज्याङ तामाङले बाढीका बेला आफूहरू बिजोगमा पर्ने बताए। उनका अनुसार खोलामा बाढी आएको समयमा बिरामी पर्दासमेत एम्बुलेन्ससम्म पुग्न नसक्ने अवस्था छ।

स्थानीय विद्यार्थी नबिना लामाले पुल नहुँदा आफ्नो पढाइसमेत प्रभावित हुने बताइन्। उनले भनिन्, “बाढी आएपछि हामीलाई विद्यालय जान निकै अप्ठ्यारो हुन्छ। धेरै पटक पढाइबाटै वञ्चित हुनुपर्छ।”
स्थानीयवासीले समस्या सुनाउँदा–सुनाउँदा थाकिसकेको भन्दै अब आश्वासन होइन, तत्काल पुल निर्माणको काम अघि बढाउन माग गरेका छन्।
यता, निजगढ नगरपालिका–११ का वडाध्यक्ष गोरुले पुल निर्माणका विषयमा प्रदेश सरकारसँग पटक–पटक कुरा गरिएको बताए। उनले प्रदेशकै कारण निर्माण प्रक्रियामा ढिलाइ भइरहेको दाबी गरे।
स्थानीयको प्रश्न भने एउटै छ—बाढी आउँदा खोलावारी–पारि छुट्टिने जनता कहिलेसम्म पुलको आश्वासनमै बस्ने?