बाढीपीडित नेपालको पुनरुत्थानमा अमेरिकाको थप ३१ मिलियन डलर सहयोग
न्युयोर्क । बाढीपहिरोबाट प्रभावित नेपालको पुनरुत्थानका लागि अमेरिकाले थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा सहयोग घोषणा गरेकी हुन्।
सहयोगमध्ये १० मिलियन डलर स्थायी पुल निर्माण, ८ मिलियन डलर खानेपानी, सरसफाइ, आश्रय तथा जीविकोपार्जन र १३ मिलियन डलर विपद् उद्धारमा प्रयोग हुने अमेरिकी प्रविधिका ड्रोन खरिदमा खर्च गरिनेछ।
नयाँ घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनरुत्थानका लागि अमेरिकाले घोषणा गरेको कुल सहयोग ३६ मिलियन डलरभन्दा बढी पुगेको छ। भेटमा हुकरले बाढी प्रभावितप्रति अमेरिकी सरकारको सहानुभूति व्यक्त गरेकी थिइन्।