फलाम चोरी गरेको आरोपमा जितपुरमा ३४ वर्षीय सहनी पक्राउ
स्पर्श खबर जितपुर बारा भदौ १३ गते:
जितपुरसिमरा उपमहानगरपालिका–९ नितनपुर चोकस्थित नारायणी स्पार्स प्रा.लि. कम्पनीबाट करिब १५ क्विन्टल फलाम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार कम्पनीमा रहेको आई–बिम र सी–च्यानल गरी करिब १५ क्विन्टल फलाम, अन्दाजी रु. १ लाख ५० हजार मूल्य बराबरको सामान चोरी गरेको आरोपमा ३४ वर्षीय मिथलेस सहनीलाई नियन्त्रणमा लिइएको हो।
चोरी गरिएको फलाम जितपुरसिमरा–७ स्थित गढीमाई मन्दिर नजिकै रहेको जितपुरसिमरा–८ का कृष्णा कुसवाहाको लेथ हाउसमा बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले सहनीलाई पक्राउ गरेको जनाएको छ।
कम्पनीबाट दिउँसो करिब १ बजे चोरीबारे प्रहरीलाई जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी नायब निरीक्षक (प्र.ब.ना.नि.) उमेश निरौलाको कमाण्डमा टोली परिचालन गरिएको थियो। टोलीले सहनीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय जितपुरमा ल्याएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जितपुर, बाराले जनाएको छ।