प्रशासनको सहमति अस्वीकार गर्दै गरिमाका आमाबुबा सडकमा, तेस्रो दिन पनि वीरगञ्ज–पथलैया ठप्प

प्रशासनको सहमति अस्वीकार गर्दै गरिमाका आमाबुबा सडकमा, तेस्रो दिन पनि वीरगञ्ज–पथलैया ठप्प
मनाेज शाह जितपुर बारा भदौ ५ गते:

तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि भएको हत्या प्रकरणले बारा फेरि तातेको छ। न्यायको माग गर्दै पीडित परिवारले वीरगञ्ज–पथलैया सडकखण्डमा दिएको धर्ना तेस्रो दिन पनि जारी रहँदा मुख्य सडक अवरुद्ध छ।


प्रशासनले बिहीबार राति स्थानीय तथा राजनीतिक दलका प्रतिनिधिसँग गरेको सहमतिले आन्दोलन रोक्न नसकेपछि स्थिति झन् तनावपूर्ण बनेको छ। पीडित परिवारलाई नै जानकारी नदिई गरिएको सहमति मान्य नहुने भन्दै गरिमाका आमाबुबाले सडक छाड्न अस्वीकार गरेका छन्।
गरिमाका बाबु मनोज चौधरीले आफूहरूको पीडा र मागलाई बेवास्ता गरेर गरिएको कुनै पनि सहमति स्वीकार नगर्ने चेतावनी दिएका छन्। उनले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम घटनास्थलमै आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग अघि सारेका छन्।


छोरीको बलात्कारपछि भएको निर्मम हत्याले आफूहरूलाई जीवनभरको पीडा दिएको भन्दै चौधरीले दोषीलाई कडा कानुनी कारबाही नभएसम्म आन्दोलन नरोकिने बताएका छन्।
यसअघि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखमाथि समेत स्थानीयले प्रश्न उठाउँदै सरुवाको माग गरेका थिए। डीएसपी दिलिप क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय तानिएपछि प्रशासनले स्थानीयसँग पाँचबुँदे सहमति गरेको थियो। तर, पीडित परिवारको सहमति र सहभागिताबिनाको सम्झौता आफूहरूलाई स्वीकार्य नभएको परिवारको अडान छ।

यता सडक खुलाउने प्रयासमा प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ। सुरक्षाकर्मी परिचालन गरेर सडक खुलाउने प्रयास भएपछि स्थानीयले “पीडित परिवारलाई रुवाएर सडक नखोलियोस्” भन्दै प्रशासनलाई चेतावनी दिएका छन्।
स्थानीयको भनाइ छ—यातायात सञ्चालन हुनुपर्छ, तर त्यसका लागि राज्यले पहिले पीडित परिवारसँग प्रत्यक्ष संवाद गरेर उनीहरूको माग सम्बोधन गर्नुपर्छ।
गरिमा हत्याकाण्डमा पीडित परिवारको असन्तुष्टि तत्काल सम्बोधन नभए आन्दोलन अझ फैलिन सक्ने संकेत देखिएको छ। अहिले वीरगञ्ज–पथलैया सडकखण्डमा यातायात प्रभावित हुँदा यात्रु तथा उद्योग व्यवसायसमेत प्रत्यक्ष मारमा परेका छन्।
सडकमा धर्ना, प्रशासनसँग असहमति र न्यायको माग चर्किँदै गएपछि गरिमा प्रकरण अब केवल स्थानीय आन्दोलनमा सीमित रहने कि व्यापक रूप लिने भन्ने प्रश्नसमेत उठेको छ।