विद्यार्थी गर्मीमा छटपटिँदा अफिसमा पाँच–पाँच पङ्खा ! वीरगञ्जको विद्यालयमा अभिभावक आक्रोशित

विद्यार्थी गर्मीमा छटपटिँदा अफिसमा पाँच–पाँच पङ्खा ! वीरगञ्जको विद्यालयमा अभिभावक आक्रोशित
स्पर्श खबर जितपुर बारा जेठ १९ गते:

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३२ परस्वास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मा विद्यार्थीहरू चर्को गर्मीमा पङ्खाविहीन कक्षाकोठामा पढ्न बाध्य हुँदा विद्यालयको कार्यालयमा भने पाँच–पाँचवटा पङ्खा झुण्ड्याइएको भेटिएपछि विवाद चर्किएको छ।
अभिभावक सुनिल पटेल ले विद्यालयमा विद्यार्थीहरू गर्मीका कारण कष्ट भोगिरहेको अवस्थामा कार्यालयलाई मात्र सुविधासम्पन्न बनाइएको भन्दै आपत्ति जनाएका छन्। उनका अनुसार गर्मीका कारण बालबालिका कक्षाकोठामै छटपटाइरहेका दृश्य सहजै देख्न सकिन्छ।
यस्तै, अभिभावक विजय महतो ले आफ्नी छोरीलाई विद्यालय पुर्‍याउन जाँदा कक्षाकोठामा पङ्खा नभएको देखेपछि विद्यालय प्रशासनसँग प्रश्न गरेका थिए। “मैले अफिसमा पाँच–पाँचवटा पङ्खा झुण्ड्याइएको छ, तर विद्यार्थी पढ्ने कोठामा एउटा पनि छैन किन ? भनेर सोध्दा प्रिन्सिपलले ‘आफ्नो छोरीलाई लिएर जानुस्, पैसा छ भने आफैं किनेर लगाउनुस्’ भन्दै दुर्व्यवहार गर्नुभयो,” महतोले गुनासो गरे।
घटनाबारे बुझ्न खोज्दा वीरगञ्ज महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछाने ले विषय गम्भीर रहेको भन्दै छानबिन गर्ने बताएका छन्। “यदि त्यस्तो भएको हो भने गलत हो, हामी बुझ्छौँ,” उनले भने।
विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरी ले भने कक्षाकोठामा पङ्खा नभएको स्वीकार गर्दै तत्काल व्यवस्था गर्ने बताएका छन्। “म अहिले नै मिस्त्री पठाएर पङ्खा जडान गर्न लगाउँछु,” उनले प्रतिक्रिया दिए। साथै अभिभावकसँग भएको भनिएको विवादबारे पनि आफ्नो धारणा राख्दै उनले गलत बुझाइ भएको दाबी गरे।
उता वडा नं. ३२ का वडाध्यक्ष रेयाज ठाकुरले विद्यालयबाट पङ्खा आवश्यक भएको जानकारी आफूलाई नदिइएको बताए। “स्कुलका शिक्षक वा व्यवस्थापनले मलाई पङ्खाको आवश्यकता छ भनेर भनेका भए तुरुन्त व्यवस्था गरिदिन्थेँ। म अहिले नै विद्यालय पुगेर अवस्था बुझ्दै छु,” उनले बताए।
विद्यार्थीको सहज सिकाइ वातावरण सुनिश्चित गर्नु विद्यालय प्रशासनको पहिलो दायित्व भए पनि कार्यालयमा सुविधा थुपारेर कक्षाकोठालाई बेवास्ता गरिएको आरोपपछि स्थानीय अभिभावकले तत्काल सुधारको माग गरेका छन्। घटना सार्वजनिक भएसँगै विद्यालय व्यवस्थापनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।