चार दिनको रस्साकस्सीपछि रास्वपा जीतपुरसिमराको नेतृत्व टुंगियो, सुरेशराज केसीलाई पुनः जिम्मेवारी
मनाेज शाह जितपुर बारा जेठ २० गते:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जीतपुरसिमरा नगर समितिको सभापतिमा सुरेशराज केसी पुनः चयन भएका छन्। चार दिनसम्म चलेको आन्तरिक छलफल र सहमतिपछि केसी सर्वसम्मत रूपमा सभापतिमा चयन भएका हुन्।
सभापति पदका लागि केसी र क्षेत्र नं. ४ का क्षेत्रीय सभापति युवराज न्यौपानेले उम्मेदवारी दिएका थिए। तर बुधबार न्यौपानेले उम्मेदवारी फिर्ता लिएपछि केसीको नेतृत्वमा सहमति जुटेको हो।
नगर समितिको उपसभापतिमा कविता चौधरी चयन भएकी छन्। उपसभापति पदकी अर्की प्रत्याशी सुशिला कार्कीले पनि उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध चयन भएकी हुन्। सचिवमा अमृत बस्याल र सहसचिवमा नारायण उप्रेती चयन भएका छन्।
नगर समितिका सदस्यहरूमा उषा बुढाथोकी प्रसाई, सुशिला कार्की, मालती भट्टराई, रामबाबु साह, मुकेश साह कलवार, कुनालराज गिरी, नसिमा खातुन, शेराजुल हक, मजिबु रहमान अन्सारी, इन्दिरा दाहाल, सुभाष थापा, शेरबहादुर थापा, सुशिल लम्साल र दुर्गा पौडेल चयन भएका छन्।
रास्वपाको प्रथम नगर अधिवेशनअन्तर्गत आइतबार मनोनयन दर्ता भएको थियो। विभिन्न पदका लागि ३३ जनाले उम्मेदवारी दिएका थिए। चार दिनसम्मको छलफल, सहमति र उम्मेदवारी फिर्तापछि अन्ततः १८ सदस्यीय कार्यसमितिको टुंगो लागेको हो।
२१ सदस्यीय कार्यसमितिमा दलित महिला सदस्यको चयन हुन बाँकी रहेको र थप दुई सदस्य नगर समितिले पछि मनोनित गर्ने जनाइएको छ। कोषाध्यक्ष पदमा भने निर्वाचित सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।