सडकको बीचमै पोल, लक्ष्मीपुर–परसाव सडकखण्डमा दुर्घटनाको जोखिम बढ्यो
स्पर्श खबर जितपुर बारा बैशाख २८गते:
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. ३१ अन्तर्गत लक्ष्मीपुर–परसाव सडकखण्डमा सडक ढलान गरिए पनि बीच सडकमै विद्युतका पोल नहटाइँदा स्थानीयवासी आक्रोशित बनेका छन् । निर्माण कम्पनी शामा कन्ट्रक्सन प्रालि को लापरवाहीका कारण दिनहुँ दुर्घटनाको जोखिम बढिरहेको भन्दै जनताले गुनासो पोखेका छन् ।
स्थानीय रमेश महतोले ठेकदार कम्पनीमाथि आक्रोश व्यक्त गर्दै भने, “सडक ढलान गरियो तर पोल हटाइएन । बीच सडकमा पोल हुँदा दुर्घटना बढेको छ । जनताको सुरक्षामाथि खेलवाड भइरहेको छ ।”
स्थानीय महिला फुलवा देबीले पनि सडककै कारण गाउँवासी समस्यामा परेको बताइन् । उनले भनिन्, “हाम्रो गाउँमा विवाह हुँदा गाडी आउन सक्दैन, एम्बुलेन्ससमेत छिर्न सक्दैन । सडक बनाउने नाममा जनतालाई दुःख दिने काम भयो ।”
स्थानीयका अनुसार साँघुरो सडकमा बीचमै पोल राखिएकाले मोटरसाइकल तथा अन्य सवारीसाधन दुर्घटनामा पर्ने क्रम बढ्दो छ । विशेषगरी रातिको समयमा जोखिम अझ बढी हुने गरेको जनताको भनाइ छ ।
स्थानीयवासीहरूले सम्बन्धित निकाय र निर्माण कम्पनीलाई तत्काल पोल हटाएर सडक व्यवस्थित बनाउन माग गरेका छन् । समयमै समस्या समाधान नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।