स्थानीय तहमै नापी–मालपोत सेवा: २०७ पालिकाको चासो, कार्यान्वयनको तयारी तीव्र
स्पर्श खबर जितपुर बारा बैशाख १६ गते:
स्थानीय तहबाटै नापी तथा मालपोत सेवा सञ्चालन गर्ने सरकारी योजनामा देशभरका २०७ पालिकाले रुचि देखाएका छन्। यसमा जीतपुरसिमरा उपमहानगरपालिकासहित प्रमुख उपमहानगर तथा महानगरहरू पनि समावेश छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वैशाख १० गते प्रस्ताव आह्वान गरेपछि इच्छुक पालिकाहरूले औपचारिक निवेदन दिएका हुन्। जीतपुरसिमराले कार्यपालिका बैठकमार्फत निर्णय गर्दै सेवा सञ्चालनका लागि आवेदन दिएको जनाएको छ।
मन्त्रालयका अनुसार धरान, धनगढी, भरतपुर र पोखरासहितका ठूला सहरहरूले पनि स्थानीय तहबाटै सेवा प्रवाह गर्न चासो देखाएका छन्। योजना अनुसार चरणबद्ध रूपमा सेवा हस्तान्तरण गरिनेछ र पहिलो चरणमा सीमित पालिका छनोट गरिने तयारी छ।
पालिका छनोट गर्दा सेवाग्राहीको चाप, पहुँच र व्यवस्थापन क्षमता मुख्य आधार बनाइनेछ। मन्त्रालयले आवश्यक प्राविधिक जनशक्ति, उपकरण तथा तालिम व्यवस्थापनको काम पनि अघि बढाइसकेको छ।
एक साताभित्र प्रारम्भिक तयारी पूरा गरी केही पालिकामा नापी तथा मालपोत सेवा सुरु गर्ने लक्ष्य सरकारले लिएको छ।