जितपुर ट्राफिक कार्यालयमा सेवाग्राही हैरान : चिट काट्ने तर कार्यालयमा ट्राफिक नदेखिने गुनासो

जितपुर ट्राफिक कार्यालयमा सेवाग्राही हैरान : चिट काट्ने तर कार्यालयमा ट्राफिक नदेखिने गुनासो

स्पर्श खबर जितपुर बारा मंसिर ७ गते:

जितपुरमा रहेको ट्राफिक प्रहरी कार्यालयप्रति स्थानीयवासी र सेवाग्राहीले असन्तुष्टि जनाएका छन्। विशेषगरी चिट काट्ने प्रक्रिया र राजस्व बुझाउने क्रममा सेवाग्राही अनावश्यक रूपमा दौडधुप गर्न बाध्य भएको गुनासो छ।

सेवाग्राहीका अनुसार ट्राफिक प्रहरीले सडकमै चिट काट्ने गरे पनि राजस्व बुझाउन कार्यालय पुगेपछि ट्राफिक नै नदेखिने गरेको छ। “कामको हतारमा चिट काटिदिन्छन्, हामी अफिस जानुपर्छ। तर कार्यालयमा जाँदा ट्राफिक नै हुँदैनन्,” सेवाग्राही समु असारीले बताएका छन्।

चिट काटिसकेपछि राजस्व बुझाउन आउने नागरिकहरू कार्यालयमा प्रहरी नपाएपछि घण्टौँ पर्खिनुपर्ने अवस्था आएको छ। सेवाग्राहीहरू भन्छन्, “सडकमा चिट काट्ने ट्राफिक सजिलै भेटिन्छ, तर कार्यालयमा राजस्व बुझाउन जाँदा कोही हुँदैन। दिनभर काम छ, अनावश्यक समय खर्चिनुपर्छ।”

स्थानीयहरूले ट्राफिक कार्यालयले सेवा प्रवाहमा सुधार ल्याउन, कार्यालयमा प्रहरीको नियमित उपस्थिति सुनिश्चित गर्न र राजस्व बुझाउने प्रक्रियामा सहजता ल्याउन माग गरेका छन्।

ट्राफिक व्यवस्थापन र सेवाप्रवाह दुवैमा सुधारको आवश्यकता रहेको स्थानीयहरूको निष्कर्ष छ।