स्पर्श खबर जितपुर बारा कार्तिक ५ गते:
बारामा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण, एक जना नियन्त्रणमा
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्गमा प्रहरीमाथि आक्रमण भएको छ। बुधबार बिहान करिब ५:३० बजेतिर चेकपोष्टमा ड्युटीमा खटिएका प्रहरीमाथि सवारी चालक समूहका एक युवाले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बारामा दरबन्दी भई कार्यरत प्रहरी नायब निरीक्षक चन्द्र ब. सिंहको कमाण्डमा तीन जनाको टोली राति १२ बजेदेखि बिहान ६ बजेसम्म सवारी चेकजाँचमा खटिएको थियो। सो क्रममा म.प्र.०३–००१–त–८९१४, म.प्र.०३–००१–त–८११२ र म.प्र.०३–००१–त–८८८५ नम्बरका कम्पाइन (धान काट्ने मेसिन) सवारी साधन चेकजाँच गर्ने क्रममा विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ।
चेकजाँचकै क्रममा सवारीमा सवार पर्सा गढी नगरपालिका–५ निवासी मुलाजिम मियाँका १७ वर्षीय छोरा जावेद मियाँले प्रहरीलाई अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए। त्यस क्रममा उनले प्र.स.नि. सिंहको टाउकोमा अज्ञात वस्तु प्रयोग गरी प्रहार गर्दा टाउको फुटेर घाइते भएका छन्। सिंहको टाउकोमा तीन वटा टाँका लागेको र उपचारपछि उनलाई स्थानीय अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
आक्रमणपछि प्रहरीले कुटपिट गर्ने जावेद मियाँलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरा पठाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


