जनकपुरधाम ।
नेपाल पत्रकार महासंघ, मधेश प्रदेश र नेपाल बार एसोसिएसन, जनकपुरधामबिचको जग्गा विवाद अन्ततः आपसी सहमतिमा टुंगिएको छ।
दुवै संस्थाद्वारा गठित उच्चस्तरीय वार्ता समितिको अथक प्रयास र सफल मध्यस्थतापछि मंगलवार ऐतिहासिक मिलापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एसोसिएसन, जनकपुरधामका अध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले हस्ताक्षर गर्नुभएको छ।
सहमति अनुसार गुठी संस्थानबाट लिजमा लिएको जग्गा दुवै संस्थाले आपसी हितका आधारमा बाँडफाँट गरी प्रयोग गर्ने भएका छन्। बार एसोसिएसनले तोकिएको क्षेत्रफल पार्किङका लागि प्रयोग गर्नेछ भने बाँकी जग्गा पत्रकार महासंघले आफ्नो बहुउद्देश्यीय कार्यक्रमका लागि उपयोग गर्नेछ।
सम्झौतामा विवादका क्रममा भएका घटनाप्रति दुवै पक्षले दुःख प्रकट गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, दुवै संस्थाले एकअर्काविरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक सामग्री सम्प्रेषण नगर्ने र दुई दिनभित्र दर्ता भएका सबै कानुनी कारबाही फिर्ता लिने वा कानून बमोजिम निस्क्रिय बनाउने महत्वपूर्ण सहमति भएको छ।
बार एसोसिएसनतर्फबाट केन्द्रीय सचिव अधिवक्ता बाबुराम अर्यालको संयोजकत्वमा गठित समितिमा वरिष्ठ अधिवक्ताहरु चन्द्र कुमार शर्मा मैनाली र श्याम कुमार मिश्र सदस्य रहनुभएको थियो। पत्रकार महासंघतर्फबाट भने केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू राजेश कुमार कर्ण र राजु विश्वकर्मा सदस्य रहेका थिए।