स्पर्श खबरकाे प्रभावले १३औँ दिनमा पर्साका एसपी आफै आए घटनास्थलमा

स्पर्श खबरकाे प्रभावले १३औँ दिनमा पर्साका एसपी आफै आए घटनास्थलमा

मनोज साह जितपुर बारा आषाढ २ गते:

स्पर्श खबरको न्युजकाे प्रभावले तेर्हौं दिनमा पर्साका एसपी आफै घटनास्थलमा अनुसन्धान गर्न आइपुगेका छन् । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा रहेको आदर्श क्रसर उद्योगमा एकजना युवाको मृत्यु भएको थियो। आदर्श क्रसर उद्योगमा स्थानीय बीस वर्षीय युवा अजय मण्डलको करिब राति ८ बजे मृत्यु भएको थियो। भाेलि पल्ट १ बजेसम्म घरपरिवारलाई जानकारी नदिइकन प्रहरीद्वारा पोस्टमार्टम गर्न लगिएको थियोे । स्थानीय बासीले विरोध गरेपछि उद्योग क्रसर बन्द गरिएको थियो। १२ दिनपछि फेरि उक्त क्रसर उद्योग सञ्चालनमा आयो तर पीडित परिवारसँग केही सहमति नगरीकन आदर्श क्रसर उद्योग दादागिरीको भरमा सञ्चालनमा ल्याएको स्थानीयले बताए । स्थानीय र पीडित पक्षले न्याय पाउनुपर्ने कुरामा जोड दिँदै विगत केही दिनदेखि आवाज उठाउँदै आएका छन् । पीडितसँग सहजीकरण नगरिकन तपाईहरु उद्योग सञ्चालनमा किन ल्याउनुभएको भनी प्रश्न गर्दा उद्योग पक्षले बोल्न मानेनन् । घटनाबारे सञ्चार माध्यममा समाचार आएपछि पर्सा जिल्लाका एसपी गौतम मिश्रा स्वयं आफै १३ दिनमा घटनास्थलमै आएर अनुगमन गरे। पत्रकारहरूले उहाँसँग सोध्दा अहिले बोल्न मिल्दैन अहिले अनुसन्धानकै विषय रहेको बताए। यता स्थानीय र पीडित पक्षका भनाइ अनुसार जुन दिन युवा मरेको थियो त्यो दिन घटनास्थलमा माथि ढुङ्गा थियो र तल बालुवाले मृतकलाई पुरेको थियो तर अहिले एस पिले अनुगमन गर्दा गिट्टी र बालुवा राखेर घटनास्थलको वास्तविक रुपरेखा नै परिवर्तन गरिएको स्थानीयबासीले बताएका छन् । आदर्श क्रसरका प्रतिनिधि रमेश गुप्तासँग कुरा गर्न खोज्दा उहाँले बोल्न मान्नुभएन । यता युवालाई मारेर पुरिएको आशङ्कामा स्थानीय र पीडितहरूले उक्त घटनाको उचित छानबिन गरी पीडित पक्षले न्याय नपाउन्जेलसम्म आफूहरु चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।