प्रदेश सभा सदस्य चौधरीद्वारा बकुलिया स्वास्थ्य चौकिको पर्खाल निर्माणको शिलान्यास

प्रदेश सभा सदस्य चौधरीद्वारा बकुलिया स्वास्थ्य चौकिको पर्खाल निर्माणको शिलान्यास
मनाेज शाह जितपुर बारा जेठ २४ गते:

जितपुरसिमरा उपमहानगरपालिका वडा ५ बकुलियामा रहेको स्वास्थ्य चौकिको पर्खाल निर्माण कार्यको शिलान्यास गरिएको छ। शनिबार एक विशेष कार्यक्रमबीच मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले विधिवत पूजा गरी पर्खाल निर्माणको शिलान्यास गरेका हुन्। कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य चौधरीले आफ्नो संसदीय क्षेत्रका जनताको मागलाई प्राथमिकतामा राख्दै स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको बताए। “स्थानीयवासीहरूले उठाएका आवश्यकताअनुसार यो योजना अघि बढाइएको हो,” चौधरीले भने, “यस वर्षको संसदीय कोषबाट हालसम्म १४ वटा योजनाको शिलान्यास भइसकेको छ।”

उनका स्वकीय सचिव रविन्द्र खकुरेलका अनुसार बाँकी वडाहरूमा पनि चालु वर्षकै बजेटमा योजना समावेश गरिने छ। चौधरीको संसदीय कोषबाट करिब २५ लाख रुपैयाँको लागतमा बकुलिया स्वास्थ्य चौकिको पर्खाल निर्माण हुन लागेको हो। शिलान्यास कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष दिपेन्द्र चाैधरीले स्वास्थ्य चौकीको सुरक्षा र सेवा विस्तारका लागि पर्खाल निर्माण अत्यावश्यक रहेको बताए। “विगतदेखि नै स्थानीयबासीहरूले पर्खाल निर्माणको माग गर्दै आएका थिए,” वडाध्यक्ष चाैधरीले भने, “प्रदेश सरकार र प्रदेश सभा सदस्यको पहलमा आज त्यो माग पूरा हुन लागेको छ, यसका लागि धन्यवाद व्यक्त गर्दछु।”स्थानीय जनप्रतिनिधि, समाजसेवी, स्वास्थ्यकर्मी र सर्वसाधारणको उपस्थिति रहेको उक्त कार्यक्रममा पर्खाल निर्माणले स्वास्थ्य सेवा सञ्चालनमा थप सहजता आउने विश्वास व्यक्त गरिएको थियो।