डिआइजी चतुर्वेदीद्वारा बारा जिल्ला प्रहरीको निरीक्षण

स्पर्श खबर जितपुर बारा जेठ ६ गते

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमा प्रसाद चतुर्वेदीले बारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै सङ्गठनको प्रभावकारिता र सेवा प्रवाहमा सुधार ल्याउन बृहत् निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारामा आयोजित कार्यक्रममार्फत डिआइजी चतुर्वेदीले शान्ति सुरक्षा सुदृढीकरण, सीमावर्ती अपराध नियन्त्रण, भन्सार छलि रोकथाम, फरार अभियुक्त खोजी र सवारी दुर्घटना न्यूनीकरणलगायतका विषयमा रणनीतिक निर्देशन दिए ।

उनले प्रहरी परिचालनलाई थप अनुशासित, व्यवस्थित र सजग बनाउनु पर्नेमा जोड दिँदै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि समन्वय र प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए । फरार अभियुक्तहरूको पहिचान र पक्राउ प्रक्रिया तीव्र बनाउन र लामो समयदेखि पेन्डिङ मुद्दाहरूको फर्छोटमा प्राथमिकता दिन निर्देशन दिए ।