अमेरिकाको आग्रह : भारत–पाकिस्तान युद्ध रोकिनुपर्छ, समाधान कूटनीतिमै

वैशाख,२६ काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच अमेरिकाले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ। युद्धले समस्या समाधान नगर्ने भन्दै अमेरिकी विदेश मन्त्रालयले आक्रमण रोक्न स्पष्ट सन्देश दिएको छ।

विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा भनिन्, “हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो। मध्यपूर्वमा हामीले देखिसकेका छौँ— युद्धबाट समाधान निस्किँदैन।”

भारत–पाकिस्तानबीच जारी तनावसम्बन्धी पत्रकारको प्रश्नमा ब्रुसले युद्धको विकल्प कूटनीति भएको स्पष्ट पारिन्। उनले थपिन्, “पुस्तौंदेखिका हिंसा र समस्यालाई रोक्न नयाँ सोच र कूटनीतिक पहल नै आवश्यक छन्।”

अमेरिकी मध्यस्थताबारे अस्पष्ट प्रतिक्रिया
पत्रकारहरूले भारत–पाकिस्तानबीच अमेरिकी मध्यस्थता हुने–नहुनेबारे प्रश्न गर्दा प्रवक्ता ब्रुसले स्पष्ट जवाफ दिइनन्। उनले न त मध्यस्थताको पुष्टि गरिन्, न अस्वीकार नै।

उनको भनाइ थियो, “जब सम्बन्धित देशका नेताहरू कूटनीतिक या कुनै पनि तहमा वार्तामा हुन्छन्, हामी त्यसको जानकारी सार्वजनिक गराउँदैनौं। यो हाम्रो नीति हो।”

उनले थपिन्, “नेताहरूबीच व्यक्तिगत तहमा संवाद भइरहेका बेला त्यसको विवरण सञ्चारमाध्यमसँग साझा गर्नु आवश्यक हुँदैन।”

दुवै देशका नेतासँग अमेरिकी संवाद
प्रवक्ता ब्रुसका अनुसार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन्।

वार्ताका क्रममा रुबियोले तनाव नियन्त्रणमा ल्याउन र हिंसा तत्काल रोक्न आग्रह गरेका थिए।सभार दिश निर्देश । साथै, समस्याको समाधान प्रत्यक्ष संवादबाट खोजिनुपर्नेमा उनले जोड दिएका थिए।