समुदायबीचको द्वन्द्व समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली–गलौज भएपछि बैठक स्थगित

स्पर्श खबर जितपुर बारा चैत ३१ गते:

हनुमान जयन्तीको अवसरमा निकालिएको धार्मिक रयालीमा भएको ढुङ्गामुढा र त्यसपछिको कर्फ्यू परिस्थितिमा समुदायबीचको द्वन्द्व समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली–गलौज भएपछि बैठक स्थगित भएको छ ।

शनिबारको घटनापछि आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा सर्वदलीय बैठक बोलाइएको थियो । बैठकमा जिल्ला प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल, अनुसन्धान प्रमुख दिलीपसिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा दुवै समुदायका अगुवाहरू सहभागी थिए ।

तर, तेश्राे बैठकको प्रारम्भमै सामाजिक सञ्जालमा आएका पाेस्टकाे विषयमा टिप्पणी र अभिव्यक्तिको विषयमा दुवै पक्षबीच चर्काचर्की सुरु भयो । सामान्य छलफलमै बहस बढ्दै गएपछि एक–अर्काप्रति गाली–गलौज तथा हात हालहालकाे स्थिति बनेपछि बैठक स्थगित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठककाे वातावरण शान्तिपूर्ण नभएकाले बैठक तत्कालका लागि रोकिएको छ । यता प्रशासनले वीरगञ्जमा निषेधाज्ञा थपगरी राती १२ बजेसम्म थप गरेकाे छ । सामुदायिक एकता र मेलमिलापका लागि आवश्यक राजनीतिक तथा सामाजिक सहकार्य गर्न समस्या परेकाे छ ।

प्रहरी स्रोतका अनुसार बैठकमा भएको विवादपछि स्थानीय तह, समुदाय प्रतिनिधि र सुरक्षाकर्मीबीच छुट्टाछुट्टै छलफल गर्ने तयारी गरिएको छ । नागरिक समाजका अगुवा तथा बौद्धिक वर्गले तत्काल संयम अपनाउन र साम्प्रदायिक एकता जोगाउन आग्रह गरेका छन् । पुर्ण बैठक जारी रहेको छ ।