बाराको पश्चिमी क्षेत्रका जनतालाई मालपोत र नापी कार्यालयका सेवा दिन केही वर्षदेखि सिमरामा ती कार्यालयका सेवा केन्द्र सञ्चालनमा छन् । तर प्रभावकारी सेवा दिनको लागि स्थापित ती सेवा केन्द्रले अनावश्यक दुःख दिइरहेको सेवाग्राहीहरूले गुनासा गरेका छन् ।
बिहान १० देखि साँझ ५ बजेसम्म ती सेवा केन्द्र सञ्चालन हुुनुपर्ने हो । तर फागुन १८ गते आइतवार साढे १० बजेसम्म सेवा केन्द्रमा कोही कार्मचारी आएका थिएनन् । सेवाग्राहीका अनुसार यी सेवा केन्द्रमा सधैं कर्मचारी ढिला आउने गर्छन् ।
हाकिमसहित १९ जना कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यालयमा एकजना प्रमुख मालपोत अधिकृत, दुईजना शाखा अधिकृत, छजना नासु, चारजना खरिदार, कम्प्युटर अपरेटर र सहायक छजना गरी कुल १९ जना कर्मचारीको दरबन्दी छ । तर बिहान ११ बजेपछि मात्रै कर्मचारीहरू आउने गरेको यहाँ सेवा लिन आउनेहरू बताउँछन् । जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीमा रहेको मालपोत कार्यालयको मात्रै नभई नापी कार्यालयका कर्मचारीहरू पनि समयमा नआउने गरेको पाइएको छ ।
मधेस प्रदेश सरकार मातहतको यो कार्यालय हेर्ने मन्त्रालयका प्रतिनिधि टोलीले केही साता अघि अनुगमन गरेको थियो । तर पनि अहिलेसम्म कर्मचारीहरूको चालचलनमा सुधार नआएको सेवाग्राहीहरू बताउँछन् ।
यस विषयमा मालपोत कार्यालयका प्रमुख इन्द्र पाण्डेसग बुझ्दा उनले एकजना कर्मचारी आज बिदामा बसेको र बाँकी सबै कार्यालयमा रहेको बताए । उनले खरिदार हरिनारायण यादव बिदामा बसेको बाँकी कर्मचारी समयमैं कार्यालय आउने गरेको बताए ।
उनले दैनिक ५/६ वटा लेखत पास हुने गरेको बताउँदै ढिला आउने कर्मचारीलाई कारबाई गर्ने बताए । उनले सबै कर्मचारी ११ बजेसम्म कार्यालयमा आउने गरेको स्वीकारे ।