स्पर्श खबरकाे न्युज संकलनपछि तात्यो मेयरवातावरण प्रदुषण गर्ने ११ वटा उद्योगलाई जीतपुरसिमरा उ.म.न.पा.ले पत्र काटेर दियो कडा चेतावनी ,प्रदुषण गर्ने जो कोहीलाई कार्बाही हुन्छ : नगर प्रमुख पौडेल

स्पर्श खबरकाे न्युज संकलनपछि तात्यो मेयर
वातावरण प्रदुषण गर्ने ११ वटा उद्योगलाई जीतपुरसिमरा उ.म.न.पा.ले पत्र काटेर दियो कडा चेतावनी ,प्रदुषण गर्ने जो कोहीलाई कार्बाही हुन्छ : नगर प्रमुख पौडेल
मनाेज शाह जितपुर बारा फाल्गुन १७ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ । उपमहानगरपालिका क्षेत्रभित्र रहेका नन्दन घ्यू एण्ड आयल ईन्डष्ट्रिज प्रा.लि.बजनी ,शिवशक्ति घ्यू एण्ड आयल ईन्डष्ट्रिज जीतपुर ,गणपत्ती बनस्पती प्रा.लि .बजनी ,कोहिनुर टेक्सटाईल ईन्डष्ट्रिज प्रा.लि.,नेपाल सेरामिक ईण्डष्ट्रिज प्रा.लि. ,नेपाल स्टोनेक्स कम्पनी प्रा.लि. ,जगदम्बा स्टिल्स प्रा.लि.सिमरा ,हुलास स्टिल ईन्डष्ट्रिज सिमरा,नारायण लेदर्स ईन्डष्ट्रिज प्रा.लि. र अशोक स्टिल ईन्डष्ट्रिज बजनीलाई उपमहानगरले प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको हो । यी उद्योगहरुले कुनै पनि प्रशासनिक स्वीकृति विना नै फोहर पदार्थ तथा फोहर पानी सिधै नजिकैको खोलामा मिसाएको पाइएकाले उपमहानगरले पत्र लेखेर यस्तो निर्देशन दिएको हो ।
नगर प्रमुख राजन पौडेलले उद्योगको यस्तो गतिविधिले वातावरणीय सन्तुलन बिग्रन सक्ने भएकाले तुरुन्तै सुधारका उपायहरू अपनाउन निर्देशन दिएका छन् । उनले उद्योगलाई फोहर पानी प्रशोधन गरेर मात्र बाहिर निकाल्न, आवश्यक उपकरण तथा शुद्धीकरण प्रणाली जडान गर्न र वातावरणीय मापदण्ड पालना गर्न आग्रह गरे ।नियमको पालना नगर्ने जोसुकैलाई कार्बाही हुने नगर प्रमुख राजन पौडेलले जानकारी गराए ।
उद्योगले तोकिएको मापदण्ड पालना नगरेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७८ को दफा १५ अनुसार कडा कारबाही हुने चेतावनी समेत उक्त पत्रमार्फत् दिइएको बाताबरण तथा बिपद् ब्यवस्थापन शाखा प्रमुख ई. पुष्पा सिँहले जानकारी गराउनुभयो । नियम उल्लङ्घन गरेमा ४५ दिनसम्म कैद वा ४५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।उपमहानगरपालिकाले उद्योगलाई समयमै आवश्यक सुधार गर्न आग्रह गर्दै नियम पालना नगरे थप कडा कारबाही गरिने चेतावनी दिएको छ ।